भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

दिक्तेलमा फेमिली केयर अस्पतालको नियमित सेवा शुरु

दिक्तेलमा फेमिली केयर अस्पतालको नियमित सेवा शुरु

खोटाङ । फेमिली केयर अस्पतालले खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँतचोकबाट मङ्गलबारदेखि आफ्नो नियमित सेवा शुरु गरेको छ । काठमाडौँस्थित धुम्बाराहीमा सञ्चालन हुँदै आएको उक्त अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरिएको हो ।

आगामी दिनमा ५० शय्याको क्षमता हुने गरी स्थापना गरिएको अस्पतालमा पहिलो चरणअन्तर्गत मङ्गलबारदेखि १५ शय्याबाट आफ्नो सेवा शुरु गरिएको सञ्चालक समितिका अध्यक्ष डा कृष्णकुमार राई ‘केके’ले बताउनुभयो । “अधिकांश रोगको यहीँ र गम्भीर किसिमका बिरामीलाई राजधानी काठमाडौँमा सञ्चालित अस्पतालसँगको सहकार्यमा उपचार गर्ने गरी दिक्तेल बजारमा फेमिली अस्पताल स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालसँग प्रतिस्पर्धा गर्न नभई सहकार्य गरेर अगाडि बढ्ने योजना बनाएका छौँ ।”

स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर सञ्चालन गरिएको अस्पतालमा आकस्मिक सेवा तथा हाडजोर्नी, दाँत, प्रसूति, बालरोग, जनरल सेवालगायत सबै किसिमका उपचार सेवा उपलब्ध गराइएको छ । अस्पतालका लागि स्थानीय चन्द्रबहादुर केसी र उहाँकी श्रीमती सीता केसीले दुई रोपनी नौ आना तथा मगनबहादुर कार्कीले पाँच आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

आगामी दिनमा मेडिकल तथा नर्सिङ कलेजसमेत सञ्चालन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फेमिली केयर अस्पतालका लागि अहिले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको सञ्चालक समितिले जनाएको छ । कान्तिपुर दैनिकमार्फत विज्ञापन प्रकाशन गरेर एमडिजीपी एक, अर्थो सर्जन एक, गाइनाकोलोजिस्ट एक, पिडियट्रिसियन एक, डेन्टल सर्जन एक, मेडिकल अफिसर तीन, हेल्थ असिस्टेन तीन, स्टाफ नर्स तीन, फार्मेसिस्ट दुई, रेडियो ग्राफर एक, ल्याब टेक्निसियन एक, एएनएम तीन र ल्याब टेक्निसियन एक जना आह्वान गरिएको जनाइएको छ ।

मेडिकल तथा नर्सिङ कलेज सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा ५० रोपनी जग्गा व्यवस्थापन गरिएको सञ्चालक समितिका सदस्य जेबी राईले बताउनुभएको छ । काठमाडौँमा कार्यरत चिकित्सक तथा खोटाङ जिल्लावासीको शेयर लगानीमा स्थापना गरिएको अस्पतालमा हालसम्म रु पाँच करोडभन्दा बढी लगानी भइसकेको अस्पताल सञ्चालक समितिले जनाएको छ ।

सुविधासम्पन्न अस्पताल सञ्चालनका लागि राजधानी काठमाडौँ र खोटाङ जिल्लामा छुट्टाछुट्टै दुईवटा सञ्चालक समिति गठन गरिएको छ । खोटाङमा स्थानीय मकरध्वज राईको अध्यक्षतामा गठन गरिएको सञ्चालक समितिले भौतिक निर्माण, जग्गा व्यवस्थापन तथा शेयर सङ्कलनको काम गरिरहेको छ ।

जटिल किसिमका बिरामीको समेत जिल्लामै उपचार गर्ने गरी स्थापना गरिएको अस्पताल सञ्चालनमा आएपछि जिल्लावासी हर्षित बनेका छन् । जिल्लावासीको आफ्नै शेयर लगानीमा शल्यक्रियासहितको उपचार हुने गरी स्थापना गरिएको अस्पताल सञ्चालनमा आएपछि हर्षित भएका हुन् । अस्पताल सञ्चालनमा ल्याइएको पहिलो दिन अस्पतालकै खर्चमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहितको टोली ल्याएर आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा जिल्लाका १८३ बिरामीले निःशुल्क सेवा लिएका थिए ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा अहिले १५ शय्याको एउटा सरकारी तथा दुई सामुदायिक अस्पताल सञ्चालनमा छन् । जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालमा उपयुक्त भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई उपचारका लागि बाहिरी जिल्ला सिफारिस गर्नुपर्ने बाध्यता छ ।

विसं २०४८ मा स्थापना गरिएको सरकारी जिल्ला अस्पतालमा अहिले प्रसूति सेवासम्बन्धी मात्र शल्यक्रिया हुने गरेको छ । जटिल किसिमका बिरामीलाई लाखौँ खर्चेर हेलिकोप्टर तथा गाडी रिजर्भ गरेर थप उपचारका लागि राजधानी काठमाडौँलगायत बाहिर जिल्ला लानुपर्ने बाध्यता छ ।

 


Thali Mobile Pvt.Ltd.