१६ साउन २०७७ भक्तपुर । राष्ट्रिय परिचय पत्र वितरण नागरिकतासँग जोडिएको संवेदनशील विषय भएकाले नक्कली नागरिकता र दोहोरो परिचय पत्र लिनेहरुबाट सचेत हुन जरुरी रहेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग र भक्तपुर नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानसम्बन्धी शुक्रबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रजापतिले यस्तो बताएका हुन् । परिचयपत्र वितरणमा प्राविधिक कारणले पनि समस्या हुन सक्नेतर्फ पञ्जीकरण विभाग र सम्बन्धित कार्यालयहरु सजग हुनुपर्ने भन्दै प्रमुख प्रजापतिले परिचयपत्र वितरणमा खटिने कर्मचारीहरु भाषा र व्यवहार जान्ने भए काम गर्न सजिलो हुने बताए ।
जिल्ला प्रशासन कार्यालयमा साउन १ गतेदेखि राष्ट्रिय परिचय वितरणको लागि स्टेशन खडा गरी परिचय पत्र अद्यावधिक कार्यको थलानी गरिने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन । सो कार्यका लागि खटाइने कर्मचारीले नेपालभाषा पनि जानेको भए उपयुक्त हुने पाण्डेले बताईन् । भक्तपुर नगरपालिका र वडाहरुसँगको आपसी समन्वयमा परिचयपत्रको विवरण संकलन अभियान समयमै सम्पन्न गरिसक्ने बताईन् ।
पञ्जकिरण विभागको समष्टिगत कार्य प्रक्रिया र अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासामाथि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले प्रष्ट पारेका थिए । डिजिटल प्रणालीमार्फत संकलन गरिने राष्ट्रिय परिचयपत्रको विवरण अभियान नयाँ पद्धति भएको हुँदा केही समस्या हुन सक्ने भन्दैै नेपाली नागरिकको सही पहिचान गर्न यो प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नपाका शाखा प्रमुख र वडाका सचिवहरुको उपस्थिति थियो ।
