वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाहा गर्न विद्यालयलाई नगर शिक्षा समितिकाे निर्देशन

वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाहा गर्न विद्यालयलाई नगर शिक्षा समितिकाे निर्देशन

भक्तपुर । भनपााका प्रमुख एवम् नगर शिक्षा समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगर शिक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठकले विद्यालय सञ्चालन, संस्थागत विद्यालयको शुल्क र अन्य विविध विषयमा केही महत्वपूर्ण निर्णय गरेको छ ।

मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई भौतिक उपस्थिति नगरी विद्यार्थी वर्गीकरणअनुसार अनलाइन माध्यमबाट नै पठनपाठनलाई निरन्तरता दिने र आगामी मंसिर महिनामा हुने प्रथम त्रैमासिक परीक्षाका लागि तयारी गराउने निर्णय गरेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको संशोधित पाठ्यक्रमअनुसारको पाठ्यवस्तु समायोजन कार्यढाँचा, २०७७ अनुसारका विषयवस्तु र क्षेत्रमा आधारित रहेर विद्यालयले विद्यार्थी सिकाइ सहजीकरण गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

विद्यार्थी सिकाइ सहजीकरण प्रभावकारी बनाउन विद्यालयमा शिक्षक अनिवार्यमा रुपमा उपस्थित भई सिकाइ सम्बद्ध क्रियाकलापमा सहभागी हुने, सबै प्रकारका विद्यालयहरूले अनलाइन प्रविधिमा आधारित रहेर सिकाइ सहजीकरण गर्दा प्रत्येक दिन विद्यार्थीको उपस्थितिको अनलाइन हाजिरीको अभिलेख राखिनुपर्ने, संस्थागत विद्यालयको शुल्कको सम्बन्धमा विभिन्न सरोकारवालाहरूसँगको छलफल, परामर्श तथा बैठकबाट प्राप्त सुझावअनुसार नगर क्षेत्रमा सञ्चालित अनलाइन कक्षा सञ्चालन गर्ने विद्यालयहरूको हकमा संस्थागत विद्यालयहरूले २०७७ वैशाख, जेठ र असार महिनाका मासिक पढाइ शुल्क मिनाहा गर्ने निर्णय गरेकाे छ ।

यदि कुनै विद्यालयले उक्त महिनाको शुल्क लिइसकेको भएमा पछिल्लो महिनाको शुल्कमा समायोजन गरिदिने निर्णय गरेको छ । बैठकले २०७७ साल साउन र भदौ महिनाको मासिक पढाइ शुल्कको बढीमा ५० प्रतिशत शुल्क लिन पाउने, असोज महिनादेखि हरेक कक्षामा मासिक पढाइ शुल्कको बढीमा ७५ प्रतिशतमात्र शुल्क लिने र सबै प्रकारका विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दा हरेक दिन आधारभूत तहको कक्षा १–५ मा कम्तीमा २ पिरीयड, कक्षा ६–८ मा कम्तीमा ३ पिरीयड तथा माध्यमिक तहको कक्षा ९–१२ मा कम्तीमा ४ पिरीयड पठनपाठनको व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकाको तर्फबाट ख्वपको पहिचान नामक स्थानीय पाठ्यक्रमको भर्चुअल कक्षा सञ्चालन गर्ने तयारी प्रक्रिया अघि बढाउने निर्णय पनि समितिले गरेको छ । हरेक कक्षा र तहका विषय शिक्षकले विद्यार्थीको सिकाइ अवस्थाका बारेमा महिनाको कम्तीमा एकपटक अभिभावकसँग परामर्श गरेर विवरणसहित त्यसको मासिक रिपोर्ट प्रधानाध्यापकलाई बुझाउनुपर्ने छ ।

प्रधानाध्यापकले समग्र विद्यालयको रिपोर्ट एकीकृत गरी नगरपालिकाको शिक्षा शाखामा बुझाउनुपर्ने निर्णय बैठकले गरेको छ । यसअघि नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरुसंग अलग अलग छलफल गरी विद्यालय सुचारु गर्न र शुल्क निर्धारण सम्बन्धमा सुझाव लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.