भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका

नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले सुनाउनुहुन्छ ।“पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गर्छु”, उहाँले भन्नुभयो, “पाँच दशकअघि साथीभाइसँग निकै रमाइलो गरेर पुस्तौँदेखि चल्दै आएका पुराना खेल खेल्थ्यौँ, त्यसमै रमाउथ्यौँ ।” कबड्डी, गोला आकारका ढुङ्गालाई एकमाथि अर्को राख्दै मोजाको गोलो बलले हिर्काएर खेलिने टिपु, रुमाल लुकाउने, लुकामारी, चोर पुलिस, ठिणी ( डण्डीबियो ), गाई बाँध्ने, डोरी नाघ्ने, चुङ्गीलगायतका खेल त्यस बेला प्रचनमा रहेको उहाँ बताउनुहुन्छ ।

गाई–गोरु चराउन जाँदा केटीहरूले रवरको गुच्छा बनाइ खेल्ने चुङ्गी, स–साना ढुङ्गालाई गोटीका रूपमा खेलिने गोट्टा, भिरालो क्षेत्रबाट काठको फल्याकमा चढेर टाढा पुग्ने घुसुडी, जमिनमा चार कुने रेखा बनाइ गोलो ढुङ्गा राखी एक खुट्टामाथि उचाल्दै अर्को खुट्टाले रेखा नछोइकन पार गर्ने अड्डुलगायतका खेल बढी खेलिने गरिथ्यो ।बूढापाकाले गोरु चराउन जाँदा र घरमै पनि दुई–चार जना जम्मा भए बाघचाली खेल्ने चलन थियो । यी सबै पुराना खेल संरक्षण गर्न नसक्दा हाल हराउँदै गएका छन् । युवाहरूले आफैँ पैसाको जोहो गरी भलिबल नेट खरिद गरी भलिबल खेल्ने गर्दथे । एकअर्का गाउँका युवाबीच भलिबल र कबड्डीका प्रतियोगिता नै हुन्थे । “पुराना खेल खेल्दा चोटपटक लाग्ने जोखिम हुन्थ्यो”, करनबहादुर ऐरले भन्नुभयो, “शारीरिक व्यायाम निकै हुन्थ्यो, शारीरिक व्यायामकै कारणले रोगव्याधीको समस्या थिएन, घरकै पाकेको खाना खान्थ्यौँ, निकै तन्दुरुस्त हुन्थ्यौँ ।”

“साथीत्वको भावना निकै हुन्थ्यो, सामूहिक छलफल गर्ने, बहस गर्ने कार्यले पढाइमा बालबालिका अब्बल हुन्थे । अहिलेको जस्तो फेसबुक, टयुटर, इन्स्ट्राग्राम, युटयुवलगायतको चलन थिएन । कम्प्युटरमा, इन्टरनेटमा खेलिने खेल थिएन”, उहाँ भन्नुहुन्छ ।“आजभोलि घरभित्रै एकै परिवारमा बस्नेबीच पनि कुनै किसिमको छलफल हुँदैन”, शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “सबै जना आ–आफ्नै मोबाइलमा व्यस्त हुन्छन्, सहरबजारमा त एक छिमेकीले अर्को छिमेकीलाई नचिन्ने अवस्था आइसक्यो ।” शारीरिक व्यायामको कमीका कारण बालबालिकमा विभिन्न किसिमका रोग देखापर्दै आएको उहाँले बताउनुभयो ।मोबाइल र कम्प्युटरमा एकहोरो हेर्ने र चलाउने भएकाले बालबालिकामा आँखाको दृष्टि कमजोर हुने समस्यासँगै एक ठाउँमा बसेर खेल्दा शारीरिक व्यायाम नहँुदा वचपनमै विभिन्न रोग लाग्ने गरेको उहाँले बताउनुभयो । यस कार्यले बालबालिकामा स्मरण शक्तिसमेत कम हुँदै गएको उहाँको भनाइ छ ।“पालिकाहरूले निर्माण गर्ने स्थानीय पाठयक्रममा पुराना खेललाई समेट्नुपर्छ, पाठयपुस्तममा अरु खेलझै पूरा खेल खेल्ने तरिका र विद्यालयमा खेलाउने गरिए पुराना खेल जोगिन्छन्”, उहाँले भन्नुभयो, “जोगाउने कार्य नगरिए बूढापाकासँगै पुराना खेल पनि सिद्धिन्छन् ।”

थारू समुदायका परम्परागत खेल ओझेलमा

तराईमा बसोबास गर्ने थारू समुदायका परम्परागत खेलसमेत ओझेलमा पर्दै गएका छन् । थारू समुदायका अगुवा धनबहादुर कुश्मीका अनुसार थारू समुदायका किशोरी तथा युवतीले खेल्ने घोघो रानी, सिक्टी उस्टैना, अच्छी, कोइली दिदी, बुक्रीभारा, छटक भेर्‍यवा र किशोर तथा युवाले खेल्ने छिल्ली, पूर्वा खैना, खोपी, बहान छोरी, मुर्गा लसन, गुल्ली दण्डा, लोची दण्डालगायत थुप्रै परम्परागत खेल लोपोन्मुख अवस्थामा पुगेका छन् ।

“परम्परागत खेल कम खर्चिला र स्थानीय साधन स्रोतको प्रयोग गरी सजिलै खेल्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “यी खेल सामूहिकरूपमा खेलिने भएकाले सामूहिकताको भावना हुन्थ्यो, हाल मोबाइलका गेमले बालबालिका पुराना खेल बिर्सँदै गएका छन् ।”उहाँका अनुसार पुरुष–महिला मिलेर खेल खेल्ने भएकाले लैङ्गिक समानताको भावना हुन्थ्यो । बाघागोटी, टयुरालगायत खेल खेल्दा दिमाग लगाउनुपर्ने हुँदा बौद्धिक विकासमा मद्दत पुग्ने गर्दथ्यो । उहाँ भन्नुहुन्छ, “परम्परागत खेलमा आफ्नैपन, आफनत्वको भावना र बेग्लै किसिमको नियममा बाँधिएर खेलिने हुँदा भरपूर मनोरञ्जन र शारीरिक व्यायाम हुन्थ्यो, हाल पुराना खेल ओझेल पर्दै गएका छन्, बचाउन सबैले लाग्नु पर्दछ ।”

 


Thali Mobile Pvt.Ltd.