भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली । नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् । नयाँ वर्षको क्रममा बन्दीपुरमा हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्दछ । गत वर्ष भने कोभिड महामारीका कारण बन्दीपुर सुनसान रहेकामा बन्दाबन्दी हटेसँगै विस्तारै पर्यटकको आगमन वृद्धि हुन थालेको बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश गुरुङले बताउनुभयो । “अहिले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बाक्लिँदै गएको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार अहिले दैनिक तीन सय भन्दा बढी आन्तरिक पर्यटक बन्दीपुर भित्रिएका छन् । नयाँ वर्षलाई लक्षित गरी बन्दीपुरका होटल व्यवसायीले छुटका कार्यक्रमसमेत ल्याएका छन् । नयाँ वर्षका क्रममा होटल व्यवसायीले साङ्गितिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् । “ठूलो स्टेज कार्यक्रम त केही छैन, तर सबै व्यवसायीले आफ्नो होटल अगाडि खाना महोत्सव साथसाथै साङ्गितिक कार्यक्रम गर्ने सोच बनाएका छन्,” गुरुङले भन्नुभयो । बन्दीपुरमा होटल सङ्घमा आवद्ध ७७ होटल छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानी वन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । बन्दीपुरले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष एक हजार १०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालू आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.