भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा

काठमाडाैं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सवल र दुर्वल पक्षको समीक्षा गरेर निर्वाचन पश्चात्को अवधिमा आयोगले गर्नुपर्ने कानुनी र नीतिगत सुधारका साथै अन्य कामको खाका कोर्नुपर्ने जनाउनुभयो ।

“विगतका निर्वाचनको समीक्षामा आएका निष्कर्षलाई कति कार्यान्वयन गर्न सकियो ? त्यसको पनि चिरफार गरेर भावी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागौँ ।” उहाँले भन्नुभयो, “निर्वाचन चक्रका हिसाबले आगामी आवधिक निर्वाचन आउँन पाँच वर्ष बाँकी रहँदा अहिले निर्वाचन अगाडिको अवधि हो । निर्वाचनको मिति घोषणा भइसकेपछि हामीलाई अस्तव्यस्त र त्रस्त अवधि अनुभव हुने गरेको छ । त्यसैले निर्वाचनपछिको अवधिमा पनि काम गरेर निर्वाचनको व्यवस्थापन र स्वच्छतामा योगदान पुग्नेछ ।”

उहाँले निर्वाचनको मिति निर्धारणको अन्योल र जनप्रतिनिधिको पदावधि र निर्वाचनका चरणबारे आयोगले निर्णय गरेर एक प्रकारको थिति बसाउन खोजे पनि यस्ता विषयलाई कानुनमै स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । यस्तै एउटा दलको व्यक्ति त्यो दलको जिम्मेवारीमा रहेकै बेला अर्काे दलको समानुपातिकको उम्मेदवार हुन पाउने नपाउने ? लैङ्गिकता र समावेशीतालाई संविधानको मर्मअनुसार कसरी पालना गराउने ? उम्मेदवारको योग्यतामा उठेका विवादलाई कसरी कानुनी निरुपण गर्ने जस्ता विषयमा समीक्षा गर्न प्रमुख आयुक्त थपलियाले आग्रह गर्नुभयो ।

प्रारम्भिक समीक्षा कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, महाशाखा र शाखा प्रमुखहरूसहितको सहभागिता रहेको आयोगका उपसचिव कमल भट्टराईले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.