काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सदस्यले धारणा राख्ने कार्य जारी छ । नेताहरुले छोराछोरीलाइ पिए राख्न नहुने धारणा राख्दै केन्द्रीय सदस्यहरुले नेताहरूले आफ्नै छोराछोरी पिए राख्दा उनीहरुको जयजयकार गर्नुपर्ने अवस्था आएकोले दुःख पाएको बताए ।
केन्द्रीय सदस्य धनीराम यादवले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सम्पर्क कार्यालय जस्तो भएको बताए । बालुवाटार र खुमलटार केन्द्रीय कार्यालयजस्तो भएको भन्दै व्यंग्य गरे । बिहीबार जारी केन्द्रीय कमिटी बैठक बोल्दै यादवले आक्रोषितहुदै नेताहरूले छोराछोरीलाइ पिए राख्न नहुने धारणा राखे ।
छोराछोरीलाई पिए बनाएको हुदा उनीहरुको जयजयकार गर्नुपर्ने अवस्था आएको बताए । बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीभित्र रूपान्तरणको आवश्यकता रहेको बताए ।
बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको बताए । संगठनात्मक यथास्थितिवादको अन्त्य गर्नुपर्ने श्रेष्ठले दावी गरे ।
नेतृत्व कमजोर भयो भने रूपान्तरण नहुने दृष्टिकोण राख्दै उनले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आफ्नो समर्थन रहेको बताए । यस्तै केन्द्रीय सदस्य हितबहादुर तामाङले पार्टी नेताहरूले चुनाव जित्न पैसामात्रै सम्झिने आदर्श बिर्सिने प्रवृत्ति बढिरहेको भन्दै आलोचना गरे ।
आफ्नो र अर्को नभनी विगतको निर्मम समीक्षा गरे मात्र पार्टी सुध्रिने बताए । यस्तै केन्द्रीय सदस्य माधव सापकोटाले नेतृत्वको बीचमा मात्रै कार्यविभाजन भएर पार्टी नचल्ने बताए । पार्टी क्रान्तिकारी हो कि यथास्थितिबादी हो भनेर प्रश्न गरे । विधान संसोधन गर्न सजिलो तर कार्यान्वयन गर्न गाह्रो हुने उनले टिप्पणी गरे ।
