वाग्मती । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट भाषणमा पत्रकारिता क्षेत्रको विकासका बारेमा छुट भएका कुरा सम्बोधन हुने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारितासम्बन्धी तालिममा आज उहाँले कोभिड नियन्त्रण र रोकथाम तथा महामारीका कारण थला परेको अर्थतन्त्र उठाउनका लागि सरकार लागकाले केही महत्वपूर्ण कुरा पनि छुटेको हुनसक्ने उल्लेख गर्नुभयो ।
मन्त्री ढुङ्गेलले प्रदेश सरकार पत्रकारलाई तालिम, क्षमता वृद्धि तथा सञ्चारगृहको व्यवस्थापनका लागि सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो । सञ्चार क्षेत्र र सरकार एकआपसका परिपूरक भएको उल्लेख गर्दै उहाँले सरकार पत्रकारिता क्षेत्रको विकास र स्थायित्वका लागि प्रतिबद्ध रहेको बताए ।“कोभिडको नियन्त्रण, उपचारको पर्याप्तता, अस्पतालको सशक्तीकरण, स्वास्थ्यकर्मीको व्यवस्थापन तथा कोभिडका कारण कारण ज्यान गुमाएका व्यक्तिका परिवारको व्यवस्थापन, अभिभावकविहीन बन्न पुगेका बालबालिकाको भरणपोषणका लागि सरकारले कार्यक्रम ल्याएको छ”, मन्त्री ढुङ्गेलले बताए ।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानाले प्रदेश सरकारले भर्खरै ल्याएको बजेट केन्द्र सरकारको बजेटसँग तालमेल मिलेको र कार्यान्वयनमा सहज हुने खालको रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले वाग्मती प्रदेश सरकारले बजेटमा पत्रकारिता क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । नेपाल सङ्घीयतामा गएर आर्थिक क्षेत्रका अधिकारसमेत प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भइसकेको अवस्थामा प्रदेशमा समेत आर्थिक क्षेत्रलाई बिटका रूपमा स्थापित गराउने उद्देश्यले भिडियो कन्फरेन्समार्फत तालिम आयोजना गरिएको आर्थिक पत्रकार समाजले जनाएको छ ।
