पर्वत । पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स(रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स(रे’ सेवा ठप्प बनेको थियो ।अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्स रे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ । ‘एक्स(रे’मा देखिएको समस्याबारे स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दा पनि उपलब्ध भएको थिएन ।
पर्वतबाट प्रतिनिधिसदस्यमा निर्वाचित हुनुभएका पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेपछि उहाँको पहलमा अस्पतालले आधुनिक उच्च प्रविधिको ‘डिजिटल एक्स(रे मसिन’ पाएको हो । स्वास्थ्यमन्त्री गिरीले उपकरणको अभावमा पर्वत अस्पतालमा आउने बिरामी एक्स(रे गर्न पोखरा वा अन्यत्र जानुपर्ने बाध्यतामा रहेको र आपूर्ति गरिहाल्न स्वास्थ्य सेवा विभागसँग समन्वय गरेपछि अस्पतालमा नयाँ उपकरण आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो ।
“मेसिन आपूर्ति गर्न छ महिनादेखि धाइरहेका थियौँ”, डा अधिकारीले भन्नुभयो, “अहिले स्वास्थ्यमन्त्रीसँग कुरा राखेपछि समस्या समाधान भयो ।” डिजिटल एक्स(रे मेसिन स्वास्थ्यमन्त्री गिरीले नै अस्पतालका अध्यक्ष शङ्कर गिरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
कूल रू एक करोड ४४ लाख मूल्यपर्ने उक्त उपकरण मन्त्री गिरीले आफू मन्त्री भएपछि पहिलो पटक जिल्लामा आएको अवसरमा गत बुधबार अस्पताललाई दिनुभएको हो । पर्वत अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेकाले केही उपकरण अहिले नै हस्तान्तरण गरिएको र आगामी पाँच वर्षभित्र सातवटै स्थानीय तहमा सुविधा र जनशक्तिसहितका अस्पताल रहने मन्त्री गिरीको भनाइ छ ।
उपकरण आएसँगै अस्पतालले प्रविधिमा थप सहज अवस्था हासिल गरेको अस्पताल विकास समितिका अध्यक्ष गिरीले बताउनुभयो । पर्वत अस्पतालमा ५० शय्या क्षमताअनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराइदिन उहाँले मन्त्री गिरीसँग अनुरोध पनि गर्नुभएको छ ।
