प्रजनन् अधिकारको रक्षा गर्न राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

प्रजनन् अधिकारको रक्षा गर्न राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसंघः संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरुलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गर्नुभएको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर उहाँले सो कुरा बताउनुभएको हो । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । उहाँले विश्व जनसंख्या दिवसका अवसरमा दिनुभएको सम्बोधनका क्रममा सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले भन्नुभयो– हामीले विश्व जनसंख्या दिवस मनाइरहँदा प्रत्येक नागरिकको प्रजनन अधिकारको रक्षाका लागि पनि हामीले सबैतिर आवाज उठाउनुपर्छ ।

अहिले विश्वमा कोरोना भाइरसको महामारी जारी रहेको र यस्तो अवस्थामा आफ्नो पेशा र रोजगारी गुमाएका महिलाहरुदेखि दिएर महामारीका कारण भएको लकडाउनका कारण घरैमा बसेका महिलाहरु पनि घरेलु हिंसाको चपेटामा परिरहेको अवस्थाको मध्यनजर गर्दै महिला अधिकारको रक्षाको काममा लाग्न पनि आग्रह गर्नुभयो । यस महामारीका कारण अरु क्षेत्रमा परेको प्रभाव जस्तै महिलाको प्रजनन अधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिँदै उहाँले विश्व जनसंख्या दिवसका अवसरमा यस विषयमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

अहिलेसम्मको तथ्यांकलाई हेर्दा विश्वमा कोभिड १९को महामारीका कारण कम्तीमा पनि ४ करोड ७० लाख महिला गरिबीतर्फ धकेलिएका छन् । उनीहरुले महामारीका कारण भएको लकडाउन तथा आफ्नो रोजगारी गुमाउनुपरेका कारण यस्तो समस्यामा परेका बताउनुभयो । त्यसैगरी विश्वका विभिन्न देशहरुमा जारी रहेको लकडाउनका कारण विश्वका ठूलो संख्याका बालिकाहरु विद्यालय जानबाट वञ्चित भएका र उनीहरु अब लकडाउन खुलेपनि विद्यालय नजाने अवस्थामा पुगेका पनि राष्ट्रसंघीय महासचिव गुटरेसको सो सन्देशमा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.