भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

प्रतिस्पर्धाका आधारमा  सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो ।

प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार प्रकाशित गरेको सूचनाअनुसार कम्पनीका आवेदन आगामी फागुन १४ गते खोलिनेछ । हाल प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा सौर्य बिजुली खरिद गर्दै आएको छ । प्रस्तावित व्यवस्था अनुसार अब प्राधिकरणले प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसामा खरिद गर्नेछ । यो अधिकतम महसुल दर हो । प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङका अनुसार खुल्ला प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्न लागिएको हो ।

हिउँदमा नदीमा जलसतह घट्ने र उत्पादन कम हुने भएकाले त्यसको विकल्पमा सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको भए पनि प्रभावकारी काम हुनसकेको छैन । सौर्य ऊर्जामा लगानीकर्तालाई आर्कषित गर्ने लक्ष्यका साथ प्रतिस्पर्धाका माध्यमबाट खरिद गर्न लागिएको हो । विद्युत् विकास विभागका लागि हालसम्म कूल ४४ सौर्य परियोजनाले सर्वेक्षणको अनुमति लिएका छन् । ती आयोजनाको क्षमता एक हजार दुई सय ३९ मेगावाट छन् ।

त्यस्तै, कूल २१ परियोजनाले निर्माणका लागि अनुमति लिएका छन् । ती आयोजनाको क्षमता एक सय ३३ मेगावाट छन् । त्यस्तै, १३ परियोजनाले सर्वेक्षणको आवेदन दिएका छन् । ती आयोजनाको क्षमता एक सय ३२ मेगावाट छ । निर्माणका लागि अनुमति माग्दै आवेदन दिएका आयोजनाको संख्या तीन छ । ती आयोजनाको क्षमता १५ मेगावाट छ । हाल निजी क्षेत्रका विभिन्न पाँच परियोजनाबाट कूल २४ मेगावाट बिजुली उत्पादन भइरहेको छ । प्राधिकरणले नुवाकोटमा निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनमा छ ।—

 


Thali Mobile Pvt.Ltd.