काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई सरकारका कामकारबाही र कामकारबाहीलाई छिटो, छरितो बनाउँन थप सुझावसहित निर्देशन दिन लागेका हुन् ।
यसअघि सोमबार प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई सिंहदरबारमा बैठक राखेर मन्त्रालयबाट हुँदै आएका काम र सचिवलगायतका कर्मचारीहरुको कार्यशैलीबारे राखेको जिज्ञासामा अधिकांश मन्त्रालयका सचिवहरुको ब्रिफिङ सकिएको थियो । आज मंगलबार बाँकी मन्त्रालय र आयोगहरुका सचिवहरुबाट ब्रिफिङ हुनेछ । सरकारको सफलता र असफलतामा कर्मचारी संयन्त्रको ठूलो भूमिका हुने भएकाले सरकारको लक्ष्य प्राप्तिका लागि कर्मचारी संयन्त्र चुस्त, तुरुस्त हुनुपर्ने प्रधानमन्त्रीको भनाई र सोही अनुसार काम गर्नुपर्ने बताइएको छ ।
प्रचण्डको सचिवालयका सदस्य सूर्यकिरण शर्माले आजको ब्रिफिङ सकिएपछि प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्ने जानकारी दिए ।
