काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने समय अपराह्न ४ बजे देखि साढे ४ बजेसम्म निर्धारण गरिएको छ ।
भ्रमणको तेस्रो दिन शुक्रबार जेठ १९ गते मध्यप्रदेशको उज्जैन तथा इन्दोर भ्रमण गर्ने र चौथो दिन जेठ २० गते शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे नयाँदिल्ली फर्किने तालिका छ । तेस्रो पटक प्रधानमन्त्री बनेपछी प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हो ।
विसं २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा भारतको भ्रमण गरेका थिए । त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतको भ्रमण गरेका थिए । भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति गर्ने बताइएको छ ।
नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा छलफल गर्ने प्रम सचिवालयले जनाएको छ । सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति गर्ने बताइएको छ ।
भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण, जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि छलफल गर्ने तयारी छ ।
भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे तालिका सार्वजनिक गरेको हो । प्रचण्ड बुधबार दिउँसो २ः५० मिनेट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गर्ने छन् भने बारखम्बास्थित नेपाली दूतावासको कार्यक्रममा सरिक हुनेछन् ।
बिहीबार बिहान १०ः३० बजे प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ। राजघाटमा आयोजित कार्यक्रममा सहभागी भएलगत्तै उनको भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका छ । बिहान ११ बजे हाइदरावादहाउसमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। त्यसलगत्तै १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ ।
त्यसपछि ४ बजे प्रधानमन्त्री प्रचण्ड भारतीय उपराष्ट्रपतिलाई भेट्नेछन् । त्यसको भोलिपल्ट शुक्रबार उनी ४ः३५ मा राष्ट्रपति भवन पुग्नेछन्। राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने र शनिबार दिल्ली हुँदै ४ः२० मा स्वदेश फर्किने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन ।
