एजेन्सी । आगामी निर्वाचनमा राष्ट्रपति निर्वाचित भए अमेरिकामा जन्मेको आधारमा नागरिकता दिने अभ्यास अन्त्य गर्ने डोनाल्ड ट्रम्पले बताएका छन् । रिपब्लिकन उम्मेदवार प्रतिस्पर्धाको लागि ट्रम्पको अभियानले जारी गरेको भिडियोमा ट्रम्पले जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।
२०२४ मा निर्वाचित भएमा पहिलो दिनमा नै जन्मसिद्ध नागरिकताको अधिकार अन्त्य गर्न कार्यकारी आदेश जारी गर्ने ट्रम्पले बताए । ट्रम्पले भिडियोमा भनेका छन् लाखौं गैरकानूनी सीमा पार गर्नेहरू गैरकानूनी रूपमा देशमा प्रवेश गरे पनि उनीहरूका भविष्यका सबै बालबालिका स्वत अमेरिकी नागरिक बन्नेछन् ।
तिनीहरू कल्याण, करदाताको रकमबाट पोषित स्वास्थ्य सेवा, भोट गर्ने अधिकार, चेन माइग्रेसन र अनगिन्ती अन्य सरकारी सुविधाहरूको लागि योग्य हुनेछन्, जसमध्ये धेरैले अवैध विदेशी आमाबाबुलाई पनि फाइदा पुर्याउनेछन् ।
अघिल्लोपटक राष्ट्रपतिमा निर्वाचित हुनु अगाडि ट्रम्पले नोभेम्बर २०१५ मा ओर्लान्डोमा बोल्दै यस्तै प्रतिवद्धता जनाएका थिए । उनले १४ औं संशोधन द्वारा प्रदान गरिएको अधिकारलाई उल्लेख गर्दै धेरै संख्यामा आप्रवासीहरू केवल बच्चाहरू जन्माउनको लागि अमेरिकामा आउनेमा जोड दिएका थिए ।
आफ्ना आमाबाबुलाई सरकारी स्रोतहरूमा पहुँच गर्न अनुमति दिने एङ्कर बेबीको अभ्यास अन्त्य गर्ने ट्रम्पले वाचा गरेका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएपनि यो अभ्यास अन्त्य भने गरेनन् ।
