भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड मंगलबार भारत भ्रमणमा जादैछन् । दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत प्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा पाँच जना मन्त्रीसहित ९० जनाको टोली लिएर भारत जाने भएका हुन ।

प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कृषिमा सहयोग लगायतका विषयमा सम्झौता र सहकार्यको तयारी भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ ।

प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो २ः५० मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गर्नेछन् ।

भोलि बिहान १०ः३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ । भोलि नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ । प्रचण्ड र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । त्यसलगत्तै दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ । भारत भ्रमणको बेला लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नेपालको नक्सा र भारतले गएको आइतबार नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको बारेमा पनि कुरा उठाउन चौतर्फी दबाब बढेको छ ।

नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ । नेपाल सरकारले औपचारिक रुपमा यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । दुई देशबीच व्यापार, पारवहन, लगानी प्रवर्द्धन, सिँचाइ बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपो पूर्वाधार निर्माण, सीमा समस्या लगायतको विषयमा छलफल गर्ने तयारी छ ।

 

 


Thali Mobile Pvt.Ltd.