काठमाडौं । भारत सरकारको सहयोगमा निर्माण भएको रुपन्देही विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन सम्पन्न भएको छ ।
परियोजनामा रोहिणी गाउँपालिका, धकधईमा अवस्थित राम नरेश यादव आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएका प्रयोगशाला भवनको नेपाल सरकारका गृह मन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत २.०९ करोडको लागतमा यस परियोजनाको कार्यान्वयन भएको हो । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक परियोजना हो ।
सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् ।
रुपन्देहीका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा यस्ता परियोजना कार्यान्वयमा आउदै छन् । नेपाल र भारतबीच बहुआयमिक विकास साझेदारी रहेको र दुई देशका जनताबीचको निकटतालाई यस परियोजनाले प्रतिबिम्बित गर्ने विस्वार लिएको छ ।
परियोजनाहरुको कार्यान्वयनले नेपालमा सामाजिक–आर्थिक पूर्वाधार अझ बलियो बनाउन तथा सामुदायिक तहमा व्यक्तिको विकासमा योगदान पुर्याउन मद्दत मिल्ने बताइएको छ ।
