भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी। बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् ।

सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो ।

सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने

भारतबाट फर्केका नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि बैतडी सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले कोरोना सङ्क्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले वीरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

भारतसँग सीमा जाडिएको झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको हो । यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिकमध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । यस्तै सरकारले कोरोना सङ्क्रमणबाट बच्नका लागि २५ जनाभन्दा भीडभाड हुने खालका क्रियाकलाप नगर्न अनुरोधसमेत गरेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै सीमा नाकामा समेत उच्च सतर्कता अपनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.