खप्तड । भू–स्वर्गका नामले चिनिँदै आएको सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन हुने भएको छ ।
खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा जेठ २३, २४ र २५ गते उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा उक्त सम्मेलन हुने र सम्मेलनमा भारतीय योगगुरु रामदेव र बालकृष्ण आचार्यको सहभागिता रहने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ । १२ उपसमिति गठन गरिएका छन् । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ ।
सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाट गर्ने भएका छन् । सम्मेलनमा पूर्वप्रधानमन्त्री, मन्त्री, सङ्घीय संसद्का सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए ।
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चारकर्मी, पर्यटन व्यवसायी, संस्कृतिकर्मी, कला तथा साहित्यकर्मी, निजी क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधिलगायत रहेका छन् । उक्त सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको आर्थिक सहयोगमा गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा रहेको छ । खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, अध्यात्मिकलगायत दृष्टिले महत्वपूर्ण रहेको छ । खप्तडको विकासका लागि सबै तह तप्का र क्षेत्रबाट सकारात्मक प्रयास हुनुपर्ने सरोकारवालाको धारणा छ ।
यस क्षेत्रमा खप्तडबाबाले पाँच दशक साधना गरेको बताइएको छ । यहाँ खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना रहेका छन् । जडीबुटीको खानीका रुपमा रहेको यहाँ खप्तड राष्ट्रिय निकुञ्जसमेत छ ।
झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिए यो क्षेत्रमा आध्यात्मिक पर्यटनको प्रवद्र्धन गर्ने प्रदेश सरकारको लक्ष्य छ । समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागिएको हो । सुदूरपश्चिमको विकासको पहिलो पूर्वाधार मानिने खप्तडमा आहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था रहेको छ भने त्यहाँबाट पैदल हिडेर खप्तड पुगिन्छ ।
