खोटाङ । प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले जैविक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरब जाने युवालाई स्वदेशमै रोक्न सकिने बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम् ट्रेडिङ सेन्टर तथा जैविक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे शुक्रबार शुभारम्भ गर्दै उहाँले जैविक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्नसके देशका नौजवान रोजगारीका लागि अरब जान नपर्ने बताउनुभएको हो ।
उक्त फाउण्डेसनले सञ्चालन गरेको वैकल्पिक शिक्षा अभियान देशको भविष्यका साथै जनताको सुख, शान्ति र समृद्धि र रोजगारीसँग पनि गाँसिएको छ प्रदेश प्रमुख खापुङले भन्नुभयो ।विश्वव्यापीकरणका कारण आगामी केही वर्षभित्र हाम्रै देशका नागरिक पनि अमेरिका, अष्ट्रेलिया, लण्डनजस्ता मुलुक घुम्न जानु रुचिको विषय हुनसक्ने पनि हुने उहाँको भनाइ थियो । “हामीले प्रयास ग¥यौँ भने अहिलेको जस्तो बाध्यात्मक अवस्था अन्त्य हुन्छ”, प्रदेश प्रमुख खापुङले भन्नुभयो, “यो अभ्यास शुभम् फाउण्डेशनले सुरु गरेको छ । आगामी दिन यसकोे अनुशरण सबैले गर्नुपर्छ ।” शुभम्् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवनमा कस्टम हायरिङ सेन्टरसमेत सञ्चालनमा ल्याइएको फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताउनुभयो ।
उक्त भवन आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष गरेर मध्यपहाडी लोकमार्गमा निर्माण गरिएको छ । व्यवहारिक शिक्षा लागू गरिएको शुभम्् फाउण्डेशन घुम्न आउने पर्यटकका लागि नजिकै रहेको पुरानो घरलाई मर्मत गरेर घरबास सञ्चालनमा ल्याइएको हो ।घरबास र टेण्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक एवं कृषिविज्ञ मदन राईले बताउनुभयो ।शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन निर्माणका लागि प्रदेश सरकारको रु २० लाखका साथै फाउण्डेनको लगानी तथा श्रमदानगरी करिब रु ८० लाख खर्च भएको जनाइएको छ । फाउण्डेशनले विभिन्न जिल्लाका असहाय तथा गरिब बालबालिकालाई जम्मा गरेर व्यवहारिक शिक्षा दिँदै आएको छ । कुटोकोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिँदै आएको फाउण्डेशनमा विभिन्न ५२ जिल्लाका २०० जना विद्यार्थी अध्ययनरत छन् ।
