काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभा सुरु भएको छ । मंगलबार राति न्युयोर्कमा सुरु भएको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।
प्रतिनिधिमण्डलबारे गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएपनि कसको नेतृत्वमा को–को जाने भन्नेबारे अलमल भइरहेको छ । परराष्ट्र मन्त्री सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन नगर्दा अलमल भएको परराष्ट्रका अधिकारीको भनाइ छ ।
देउवाले महासभामा भाग लिन आफू नजाने प्रस्ट पारिसकेका छन् । महासभामा जानका लागि मन्त्रालयले गृहकार्य गरिरहेको परराष्ट्र प्रवक्ता सेवा लम्सालले भनिन् तर को जाने हो उनीसंग पनि स्पष्ट जवाफ छैन ।
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की वा परराष्ट्र सचिवबाट मुख्यसचिव बनेका शंकरदास वैरागी वा परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली टोली पठाउने भित्री तयारी भएको स्रोतको दावी छ ।
स्रोतका अनुसार राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रमुख अमृतकुमार राईले प्रतिनिधित्व गर्न सक्ने बताएको छ । १ सय ३० मुलुकको सहभागिता रहेको ‘ग्लोबल’ संस्था राष्ट्रसंघको महासभा मंगलबार सुरु भए पनि उच्चस्तरीय छलफल असोज ५ बाट हुने बताइएको छ ।
