भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

रासस । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ ।

हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको कूल लागत रु एक करोड ५७ लाख रहेको छ । काठमाडौस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ ।

निर्माण व्यवसायी संस्था एसएनपीका साइट सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री छन् । गोवर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चूना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकुलित प्रकृतिको हुने उहाँले बताउनुभयो । नेपालमा यस्ता कमै संरचना रहेको र त्यो तहको संरचना हिमाली जिल्ला ताप्लेजुङमा पनि बन्न लागेकोमा यो पूर्वी नेपालकै लागि गौरवकै विषय भएको उहाँको भनाइ छ ।

विसं २०७६ मङ्सिर देखि भवनको निर्माण कार्य शुरु भएको हो । गत असार मसान्तमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण लामो समयको लकडाउनले तोकिएको समयमा पूरा गर्न नसकिएको साइट सुभरभाइजर भट्टराईले बताउनुभयो । भवन निर्माणको कार्य ६५ प्रतिशत सम्पन्न भएको र आगामी माघ १८ गतेसम्ममा निमार्ण कार्य सम्पन्न गर्ने गरी तीव्ररुपमा काम भइरहेको उहाँको भनाइ छ ।

देउराली भित्री वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन तथा सदुपयोग गर्न, पर्यापर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने उहाँको भनाइ छ ।

मंञ्चका सचिव विवस केदेमले पाथीभरा क्षेत्र रेडपाण्डाका लागि उपयुक्त वासस्थान भएको क्षेत्र भएकाले यो केन्द्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.