ईरानले लागुऔषध अपराधी र जातीय दलका धेरै व्यक्तिलाई मृत्युदण्ड दियो

ईरानले लागुऔषध अपराधी र जातीय दलका धेरै व्यक्तिलाई मृत्युदण्ड दियो

इरान । इरानमा मृत्युदण्ड दोब्बर पुगेको छ । सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ईरानको एक मृत्युदण्ड दोब्बर भन्दा बढि पुगेको जनाइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत महिना मृत्युदण्डको वृद्धिप्रति चिन्ता व्यक्त गरेका थिए । ईरानले उच्च सङ्ख्यामा लागुऔषध अपराधी र अल्पसंख्यक जातीय दलका धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको उल्लेख गरिएको छ ।

ईरानमा गत महिनाहरूमा खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्रीमा मूल्य वृद्धि भएको भन्नेजस्ता आर्थिक गुनासोसँगै राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गरेको थियो । फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको दावी गरिएको छ । गत वर्षको पहिलो छ महिनामा ११७ जनालाई मृत्युदण्ड दिइएकोमा यो बर्षको जनवरी १ देखि जुन ३० सम्म ईरानमा २५१ जनालाई फाँसी दिइएको नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) को एक रिपोर्टमा उल्लेख गरिएको छ ।

आईएचआरका अनुसार बुधबार मात्रै तेहरानबाहिर रहेको राजै शाहर जेलमा बलात्कार र हत्या अभियोगमा आठ जना कैदीलाई मृत्युदण्ड दिइएको थियो । मे ७ मा विरोध प्रदर्शनको नयाँ लहर सुरु भएदेखि नै १३७ जनालाई मृत्युदण्ड दिइएको सार्वजनिक गरिएको छ । मृत्युदण्ड पाएकाहरूमध्ये छ महिलासमेत रहेको आईएचआरले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.