वृक्षरोपण अभियानमा जुट्दै कामपा

वृक्षरोपण अभियानमा जुट्दै कामपा image

काठमाडौँ । शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपण अभियान शुरु गरेको छ । बर्सातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने काम शुरु गर्नुभएको हो । सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने कामपाको नीतिअनुरुप यस कार्य अघि बढाइएको हो ।

नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा बिरुवा रोप्ने काम भएको छ । साना बिरुवा हुर्काउन कठिन हुने भएकाले कम्तीमा पाँच फिटभन्दा अग्ला बिरुवा रोप्ने मापदण्ड बनाइएको छ । अहिलेको बर्सातको समयमा दुई हजार ५०० बिरुवा रोप्ने योजना कामपाको छ । हरियालीसँगै शहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदूषण गराउने वस्तुको प्रदर्शन रोक्ने तथा भएकालाई हटाउने काम भइरहेको कामपाले जनाएको छ ।

अभियानको पहिलो दिन शिरीष, कपुर, कल्की र चाँप जातका करिब १३० बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए। “बिरुवा रोप्नुजत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ”, श्रेष्ठ भन्नुहुन्छ, “यसका लागि वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ ।”

कामपाले गत आर्थिक वर्ष जस्तै चालु आवमा पनि कामपाभित्र रहेको सार्वजनिक जग्गाको पहिचान, उद्यान निर्माण र हरियाली प्रवृद्र्धन गर्ने कार्यलाई नीति तथा कार्यक्रममा समेटी बजेटको समेत व्यवस्था गरेको छ । कामपा बोटबिरुवा रोप्ने कार्य मात्रै होइन, शहर कुरूप बनाउने र नीतिविपरीत शहरका विभिन्न स्थानमा राखिएका विज्ञापन बोर्ड हटाउने कार्यमा पनि निरन्तर लागिरहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda