भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिख माविमा छात्रावास भवन निर्माण

शिख माविमा छात्रावास भवन निर्माण

जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन लक्ष्यभन्दा एक महिनाअघि नै सकिएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको साझेदारीमा १० कोठे छात्रावास भवन निर्माण गर्न गत २०७७ असार ५ गते उत्तरगङ्गा निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयभित्रै भवन निर्माण सकेर गाउँपालिकालाई हस्तान्तरण गरेको निर्माण सेवाका सञ्चालक कृष्ण बरुवालले बताउनुभयो ।

“कोरोनाका कारण सबै आयोजनाको ठेक्का सम्झौताको म्याद छ महिना थपिए पनि शिख माविको भवन निर्धारित समयअघि नै सकेर हस्तान्तरण गरेको छु”, उहाँले भन्नुभयो, “कोरोनाको जोखिम, लकडाउन, बाढीपहिराको असहज अवस्था भए पनि पर्याप्त मजदुर, उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर भवन निर्माण गरिएको हो ।” एकतले भवनमा १० कोठा र सात शौचालय तथा शयनकक्ष छन् । रु एक करोड १० लाख लागत अनुमान गरिएको भवन बनाउन रु ८१ लाखमा ठेक्का लागेको थियो । दोस्रो चरणमा अर्को छात्रावास भवन बनाउन रु एक करोड ९२ लाख लागत अनुमान गरेर आह्वान गरिएको ठेक्का ३०.०२ प्रतिशत घटेर ढोरपाटन निर्माण सेवाले पाएको छ । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले तीनतले ३० कोठे भवन बनाउन लागिएको बताउनुभयो । कम बोलेको ढोरपाटन निर्माण सेवालाई ठेक्का सम्झौताका लागि बोलाएको गाउँपालिकाले जनाएको छ ।

विसं २०७७ असार मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउने सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गत वर्ष रु ६० लाख पठाएको मन्त्रालयले आवासीय विद्यालयको छात्रावास बनाउन यस वर्ष रु दुई करोड पठाएको थियो । छात्रावासमा घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधा हुनेछ । कक्षा १२ सम्मको पठनपाठन हुने शिख माविमा हाल १८९ विद्यार्थी छन् । आवास सुविधा भएपछि घर टाढा भएका विद्यार्थीलाई सुविधा पुग्नुका साथै कम विद्यार्थी सङ्ख्या भएका विद्यालय गाभ्न सकिने प्रअ केदार कार्कीले बताउनुभयो । नयाँ छात्रावास भवन केही दिनमै प्रयोगमा ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन अन्नपूर्ण–१ दोवास्थित कैलाश माविको भवन जीर्ण बनेको छ ।

भत्कने अवस्थामा पुगेको भवनमा जोखिम मोलेर पठनपाठन हुने गरेको छ । विद्यार्थी र शिक्षक त्रसित मनोविज्ञानमा कक्षा कोठामा बस्ने गरेका छन् । बीस वर्षअघि निर्माण भएको कच्ची भवन भूकम्प र पहिराले भत्कने अवस्थामा पुगेको हो । चर्किएको पर्खाल र लच्किएको भवनका कोठामा जोखिम मोलेर पठनपाठन गराउनुपरेको प्रधानाध्यापक शिरबहादुर गर्बुजाले बताउनुभयो । “कक्षा कोठाको अभावले जीर्ण भवनमा जोखिम मोलेर विद्यार्थी राख्नुपरेको हो”, उहाँले भन्नुभयो, “विद्यालयमा भएका चारमध्ये दुईवटा पुराना भवन जीर्ण बनेपछि समस्या परेको छ ।” विसं २०६० मा ढुङ्गा, माटो र काठको प्रयोग गरेर स्थानीय प्रविधिबाट निर्माण गरिएको नौकोठे भवन जीर्ण छ । त्यसैगरी आधारभूत तहको कक्षा सञ्चालन गरिएको दुईकोठे अर्को भवनसमेत भत्कने अवस्थामा छ । नौकोठे भवनको पर्खाल चर्किनुका साथै बाहिरी भाग बाहिर निस्किएको छ ।

कक्षा कोठाभित्रै प्वाल परेको छ । जोखिम बढेपछि त्यो भवनमा सञ्चालित कक्षा ९ र १० लाई हालै निर्माण भएको नयाँ भवनमा सारिएको छ । कम्प्युटर प्रयोगशाला पनि नयाँ भवनमा सारिएको छ । अर्को जीर्ण भवनमा कक्षा ३ का विद्यार्थी बसेर पढ्छन् । कक्षा ३ मा नौ विद्यार्थी छन् । नौकोठे पुरानो भवनमा अझै कार्यालय र पाँचवटा कक्षा सञ्चालन गरिएको छ । भिरालो पाखोमा रहेको भवन विसं २०७२ को भूकम्पले चर्किएको थियो । सामान्य मर्मत गरिएको भवन गत वर्ष जमिन लच्किएपछि पर्खाल चर्किएको हो । जीर्ण भवनका कारण त्रासको वातावरणमा पढ्नुपरेको विद्यार्थीले बताएका छन् । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा १६५ विद्यार्थी छन् ।

जोखिम भएकाले हिउँदयाममा चौरमा राखेर पढाइएको छ । बर्खामा कोठाभित्र राखेर पढाउन सक्ने अवस्था नभएकाले विकल्पको खोजीसँगै नयाँ भवन निर्माणमा पहल गरिएको वडाध्यक्षसमेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष दिलीप गर्बुजाले बताउनुभयो । “राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बेनीस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत हालै चारकोठे नयाँ भवन निर्माण सकिएको छ”, उहाँले भन्नुभयो “रु ७० लाख ४० हजारमा सम्झौता भएकामा रु १५ लाखभन्दा बढी भुक्तानी पाउँन बाँकी छ ।” यसअघि पनि चारकोठे भवन निर्माण भएको थियो । नयाँ भवन परिसरमा पहिरो रोकथामका लागि गाउँपालिकाको सहयोगमा पर्खाल निर्माण भइरहेको छ । नयाँ भवनका लागि जग्गासमेत सम्याएर राखिएको छ । थप आठ कोठा निर्माण गर्नुपर्ने अध्यक्ष गर्बुजाले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.