काठमाडौं । समायोजनमा परेका असन्तुष्ट अधिकृतहरुले राखेको माग पूरा गर्न नसकिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ । समायोजनमा परेका असन्तुष्ट अधिकृतहरुले संघमा खाली भएको दरबन्दीमा आफूलाई राख्नुपर्ने भन्दै माग राखे पछि त्यसलाई पूरा गर्न नसकिने मन्त्रालयले जनाएको छ ।
समायोजन ऐन अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएका अधिकृतहरु अब संघमा खाली हुँदा हामीलाई राख भन्न कानुनअनुसार नमिल्ने प्रवक्ता भुपाल बरालले बताए। आइतबार असन्तुष्ट अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रधानमन्त्री कार्यालयका सचिवलाई भेटेर विरोध पत्र बुझाएका छन् ।