विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रियावादीको एजेण्ट भएकाले सार्वभौम संविधानमाथि अतिक्रमण गरेको आरोप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका छन् ।
विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई भष्मासुर भन्दै प्रतिक्रियावादीको आडमा प्रतिनिधि सभा विघटन गरेको ठोकुवा गरे । प्रतिनिधि सभा विघटन नभएको दाबी गर्दै प्रचण्डले विघटन जस्तो देखिएको बताए ।
७० वर्षदेखि लड्दै आएको लोकतन्त्रवादी र कम्युनिस्ट आन्दोलनको उपलब्धि र नागरिकमाथि आक्रमण केपीले गरेको आरोप लगाउदै उनले आफूमाथिको आक्रमणलाई प्रतिकार गर्न नागरिक जुरुक्क उठ्न आग्रह गरे । नेकपा पार्टी एक गर्ने र एकताको गठबन्धनको प्रस्ताव ल्याउने व्यक्ति आफू भएको बताउदै ‘शक्तिशाली पार्टी र समाजवादतर्फ जाऔँ भनेर भन्ने व्यक्ति आफै भएको दावी गरे ।
तीन वर्ष नहुँदै प्रतिगमन र प्रतिक्रान्तिको काम गर्ने ओलीले जनतालाई भ्रम फिजाइरहेको ठोकुवा गरे । युवायुवतीलाई उज्यालो पार्ने आफ्नो सपना रहेको भन्दै समाजवादको दिशामा अघि बढेका बेला केपी ओली प्रतिक्रान्तिको खोपी बनेर उभिएको जिकिर गरे । ओली बेइमानी, ठगीधन्दा र खुरापातीको धन्दामा लागेको भन्दै सामन्त र दलाल पुँजीपतिको नाइके भएर ओली उभिएको दाबी गरे ।

