भर्खरै : Sorry, your browser does not support inline SVG.
एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो |

सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारवाहीमा

सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारवाहीमा

टीकापुर । चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार ३०५ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार गएको साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४६० मोटरसाइकल, १४ हजार ७४० जिप र कार, ११ हजार ३०१ ट्रक, नौ हजार ५९० ट्र्याक्टर, दुई हजार ८० बस र दुई हजार १३४ अन्य सवारी साधन कारवाहीमा परेका छन् ।

कारवाहीमा परेका सवारी साधनबाट रु तीन करोड ७० लाख ८४ हजार ५०० राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । “यी सवारी साधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व सङ्कलन भएको हो”, उहाँले भन्नुभयो, “ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारवाहीमा परेका हुन् । हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाई गर्ने गरेका छौँ ।”

अघिल्लो आर्थिक वर्ष ५६ हजार १५३ सवारी साधन कारवाहीमा पर्दा रु तीन करोड ३१ लाख ९९ हजार ५०० राजस्व सङ्कलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालू आव नौ महिनामा नै आठ हजार १५२ बढी सवारी साधन कारवाहीमा परेका छन् भने रु ३८ लाख ८५ हजार राजस्व बढी सङ्कलन भएको देखिन्छ । सवारी साधनको सङ्ख्यामा वृद्धि र ट्राफिक प्रहरीले जाँच कार्यलाई तीव्रता दिएका कारण सवारी साधन बढी कारवाहीमा परेका प्रहरी निरीक्षक सिंहको भनाइ छ । उहाँले भन्नुभयो, “सवारी दुर्घटना समस्याका रुपमा बढ्दै गएकाले हामी निरन्तर लागेका छौँ । सवारी दुर्घटना कम गर्न प्रहरीमात्र होइन, नागरिक, सवारी चालक सबै सचेत हुन आवश्यक छ ।”

यस वर्षको नौ महिनामा ४८१ सवारी दुर्घटना हुँदा ६७४ सवारी साधनमा क्षति भएको छ भने १४७ को ज्यान गएको छ । यस अवधिमा ५११ गम्भीर र ४४७ जना सामान्य घाइते भएका छन् । ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको नौ महिनामा २३२ सवारी दुर्घटना हुँदा ३०७ सवारी साधनमा क्षति भएको थियो भने ११६ को ज्यान गएको थियो । अघिल्लो आवको नौ महिनाको तथ्याङ्क हेर्दा यस चालू आवमा बढी सवारी दुर्घटना भएको देखिन्छ ।

बस चालक रुपेश चौधरी कुनै एक पक्षले मात्र सजग बनेर सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने भएकाले सबै सचेत बन्नुपर्ने, सर्वसाधारणले पनि ट्राफिक नियम पालना गर्नुपर्ने बताउनुहुन्छ । “अधिकांश सवारी दुर्घटना चालकको होइन नागरिकको लापर्वाहीले समेत भएका हुन्छन् । दुर्घटना भएमा ठूलो सवारीले क्षति ब्योहोर्नुपर्ने बाध्यता छ”, सवारी चालक चौधरी भन्नुहुन्छ, “कतिपय साथीहरु अरुको गल्तीले पनि कारवाही भोग्न बाध्य छन् । त्यसैले दुर्घटनाबारे ज्ञान सबैलाई दिन आवश्यक छ ।”

Mohotsav


Thali Mobile Pvt.Ltd.