भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला

हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला

उदयपुर । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास ९जन्मकैद० जेल सजाय र रु एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको हो ।

यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको अभियोग राउतमाथि लागेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताउनुभयो । हत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको अदालतले जनाएको छ ।

शिकारीले छाडेको बन्दुक पड्केर मृत्यु

बुधबार राति उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वनरक्षक ४० वर्षीय लेखनाथ बाँस्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहका अनुसार बाँस्तोलाको मृत्यु शिकारीले छाडेको बन्दुक बोकेर कार्यालयमा ल्याउने क्रममा पड्केर मृत्यु भएको हो । मृतकका आफन्तले बिहीबार रातिसम्म पनि शव बुझ्न नमानेका साहले बताउनुभयो ।

डिभिजन वन कार्यालय गाईघाटका अनुसार बुधबार राति सबडिभिजन वन कार्यालय तपेश्वरीका दुई जमदार, दुई सिपाही र दुई वनरक्षक गरेर छ जना रात्रिगस्तीमा गएका थिए । जङ्गलमा चोरी शिकारी फेला परेपछि वनका कर्मचारीले घेर्ने क्रममा शिकारी बन्दुक छाडेर भागेपछि उक्त बन्दुक वनरक्षक बाँस्तोलाले बोकेर गाडीबाट कार्यालयसम्म ल्याएको डिभिजन वन कार्यालय गाईघाटले बताएको छ । बाँस्तोलाले राति १० बजे उक्त लोड भएको भरुवा बन्दुक कार्यालयभित्र लाने क्रममा ढोका नजिकै पड्कँदा आफैँलाई लागेर घटनास्थलमै उनको मृत्यु भएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका पौडेलले बताउनुभयो ।

घटनापछि बिहीबार सुनसरी दुहबी घर भएका वनरक्षक बाँस्तोलाका आफन्तलाई बोलाइएको र घटनाबारे जानकारी गराएर प्रहरी र वनका कर्मचारीले शव बुझ्न आग्रह गरे पनि मृतकका आफन्तले शव बुझ्न नमानेपछि बिहीबार रातिसम्म शव कार्यालयमै रहेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ । मृतकका एक आफन्तले आफँै बन्दुक पड्कन असम्भव रहेको र यसभित्र कुनै रहस्य भएका कारण छानविन भएर वास्तविकता बाहिर नआएसम्म आफूहरुले शव नबुझ्ने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.