भर्खरै : Sorry, your browser does not support inline SVG.

३०१ महिला र बालबालिकाको उद्धार

३०१ महिला र बालबालिकाको उद्धार

प्युठान । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली गइन ।

कैलाली आएपछि युवक कैलालीमा घर नभएको, भारतमा गएर विवाह गरौँ भनेर भारततर्फ लागे । युवकले ढाँटेको थाहा पाएपछि महिला चिन्तित त भइन तर युवकसँग नजानुको विकल्प थिएन । घर छाडेर हिँडिसकेकी महिलालाई अब डर लाग्न थाल्यो । कैलालीको सीमा नाका खक्रौलामा बेचबिखन न्यूनीकरणका लागि निगरानीमा बसेको साना हातहरु नेपालले उनीहरुमाथि शङ्का गर्यो ।

युवकले भारतमा रोजगारीका लागि जान थालेको, आफूहरु दम्पती भएको बताए । निकै सोधपुछ गरेपछि युवकलाई नियन्त्रणमा लिइयो । “मैले साना हातहरुका दिदीहरु देखेपछि अब बाँचिन्छ कि जस्तो लाग्यो, अनि सबै कुरा खोलेँ, दिदीहरुले प्रहरी बोलाउनुभयो”, उद्धार गरिएकी महिलाले भनिन्, “हाल म साना हातको संरक्षणमा बसेकी छु । मलाई झुक्याउने युवक बेचबिखन मुद्दापछि सजाय भोगिरहेका छन् । म सिलाइकटाइको काम सिकिरहेकी छु । मैले नयाँ जीवन पाएँ, अब जीवन सुन्दर बनाउँछु ।”

रोजगारीका सिलसिलामा नेपाल–भारत सीमा हुँदै भारत जाने महिला तथा बालबालिका बेखबिखनको जोखिममा पर्न सक्छन् । यी महिलाको समयमै उद्धार नभएको भए जोखिम थप बढ्ने साना हातहरु नेपालका स्टेशन संयोजक तुलसी विक बताउँछन् । “हामीले सीमामा बसेर धेरै शङ्का गर्नुपर्ने हुन्छ । हामीले गत वर्ष ३०१ महिला तथा बालबालिकालाई उद्धार गरेका छौँ”, उनले भने, “दुई वर्षको अवधिमा चारवटा बेचबिखनसम्बन्धी मुद्दा चलाएका छौँ । रासस

 


Thali Mobile Pvt.Ltd.