भर्खरै : Sorry, your browser does not support inline SVG.

निर्वाचन आयोगले सुरक्षा निकायलाई आगामी निर्वाचन शान्तिपूर्ण बनाउन आग्रह

निर्वाचन आयोगले सुरक्षा निकायलाई आगामी निर्वाचन शान्तिपूर्ण बनाउन आग्रह

काठमाडौं, २९ पुस । निर्वाचन आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ ।

जिल्ला सुरक्षा समिति बाँकेको सोमबारको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिबाट हालसम्म भएका तयारी र क्रियाकलापबारे उहाँले जानकारी लिनुभएको हो ।

सोही अवसरमा आयुक्त तुलाधरले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगबाट गरिएका प्रयास, जारी निर्देशन र व्यवस्थापनबारे जानकारी दिँदै सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक कार्य गरी सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन आग्रह गर्नुभयो ।

बैठकमा अहिलेसम्म निर्वाचनको सन्दर्भमा जिल्ला सुरक्षा समितिले गरेका काम, नीतिगत व्यवस्था र सुरक्षा रणनीतिका विषयमा विस्तृत छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो । उहाँका अनुसार बैठकले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णयसमेत गरेको छ ।

आगामी निर्वाचनलाई शान्तिपूर्ण र विश्वासिलो बनाउन आयोग, जिल्ला प्रशासन र सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा बैठकमा जोड दिइएको छ । सुरक्षा व्यवस्था प्रभावकारी भए मात्र मतदाता बिना डरढुक्क मतदान प्रक्रियामा सहभागी हुन सक्ने भएकाले सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.