काठमाडौँ, २४ असाेज । हजारौँ माइलको यात्रा गरेर नेपाल आउने आप्रवासी चराको सङ्कट बढ्दै गएको छ । सिमसार क्षेत्रको अतिक्रमण, जलवायु परिवर्तन, विषादीको अत्यधिक प्रयोग र अवैधानिक सिकारका कारण पाहुना चराको वासस्थान सङ्कुचित बन्दै गएको हो ।
चराहरूको विश्व बसाइँसराइ दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी चराको संरक्षणमा जोड दिइँदै छ । हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यस दिवसले बसाइँसराइ गर्ने चराको संरक्षण र तिनको वासस्थान जोगाउने महत्त्वबारे सचेतना फैलाउने लक्ष्य राख्छ ।
नेपाल चरा पर्यटनका लागि महत्त्वपूर्ण देश हो । यहाँ हालसम्म ९०४ प्रजातिका चरा अभिलेख भएका छन् । तीमध्ये झन्डै १५० प्रजातिका हिउँदे र ६५ प्रजातिका ग्रीष्मकालीन आप्रवासी चरा रहेको विवरण छ ।
हालैको तीव्र हावाहुरीका बेला समुद्री तटीय क्षेत्रमा पाइने दुर्लभ ‘कोलार्ड किङफिसर’ चरा धनुषामा अभिलेख भएको छ । यस्तो घटनाले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनीबानीमा पर्न सक्ने असरबारे चासो बढाएको छ । बर्डलाइफ इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार विश्वभर ४५ प्रतिशत आप्रवासी चराको सङ्ख्या घट्दो क्रममा छ भने ११ प्रतिशत लोप हुने जोखिममा छन् ।
नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा विषादीको अत्यधिक प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक सिकारले आप्रवासी चराको वासस्थान तथा अस्तित्वमा चुनौती थपेको नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईंले बताउनुभएको छ ।
गोसाईंका अनुसार जलपन्छीको आगमन घट्नु जैविक विविधताका लागि चिन्ताको विषय हो । चराको सङ्ख्या र आगमनमा आउने गिरावटले प्राकृतिक पारिस्थितिक प्रणालीमा समेत असर पार्न सक्छ ।
उहाँले विकास निर्माणका पूर्वाधार बनाउँदा चराको उडान मार्ग र वासस्थान संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । आप्रवासी चराको दीर्घकालीन संरक्षणका लागि सरकारको स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र विभिन्न देशबीच क्षेत्रीय सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
