भर्खरै : Sorry, your browser does not support inline SVG.

नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध

नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी  । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अदालतकी पूर्वन्यायाधीश नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको केही घण्टापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अदालतविरुद्ध प्रतिबन्धात्मक कदम चाल्ने बताएका हुन् ।

समाचार संस्था एएफपीका अनुसार रुबियोले आईसीसीलाई ‘दोषी अदालत’ को संज्ञा दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेदरल्यान्ड्सको हेगमा रहेको यस अदालतविरुद्ध लामो समयदेखि चलाउँदै आएको अभियानकै निरन्तरताका रूपमा यो कदमलाई हेरिएको छ ।

अमेरिकी प्रतिबन्धको घोषणाप्रति आईसीसीले आपत्ति जनाएको छ । अदालतले प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानुनमाथिको आक्रमण भन्दै अस्वीकार गरेको छ । अदालतको विज्ञप्तिमा ‘इतिहासले यो क्षणको न्याय गर्नेछ’ भन्ने उल्लेख गरिएको छ । नर्वेली नोबेल समितिले दक्षिण अफ्रिकाकी ८५ वर्षीया न्यायविद् नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेको थियो ।

पुरस्कार ग्रहणपछि पिल्लेले आफ्नो सम्मान अन्तर्राष्ट्रिय अपराधका पीडितहरूलाई समर्पण गर्दै विश्वका नेताहरूलाई अन्तर्राष्ट्रिय कानुनी संस्थाहरूको सम्मान गर्न आह्वान गरेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन् । पिल्लेलाई पुरस्कार दिने निर्णय र त्यसलगत्तै आईसीसीमाथि अमेरिकी प्रतिबन्धको घोषणा भएपछि अन्तर्राष्ट्रिय न्याय प्रणाली र त्यसको स्वतन्त्रताबारे बहस थप चर्किने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.