काठमाडौं । विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल नेपालमै अवस्थित रहेको तथ्यलाई पुष्टि गर्दै, त्यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपाल सरकारले अब ढिला नगर्नुपर्ने सुझाव विज्ञ र संरक्षणकर्मीहरूले दिएका छन्।
पर्यटन विभागले हालै सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क, नक्सा र पिक प्रोफाइलुका आधारमा नेपालमा मात्रै यति अग्ला १४ हिमाल रहेका छन् भन्ने दाबी थप प्रमाणित भएको हो।
विगतमा विश्वमा आठ हजार मिटरभन्दा माथि उचाइ भएका जम्मा १४ वटा हिमाल रहेको र तीमध्ये नेपालमा आठवटा, बाँकी पाकिस्तान तथा चीनमा रहेको मान्यता रहँदै आएको थियो।
तर नेपाल सरकारले हालै गरेका मापन, अध्ययन तथा अद्यावधिक विवरणले बाँकी ६ वटा हिमालसमेत नेपालमै पर्ने पुष्टि गरिसकेको छ। यसले नेपाललाई हिमाली सम्पदाको धनी देशका रूपमा अझ सशक्त ढंगले स्थापित गर्ने आधार तयार पारेको छ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष तथा अध्ययन कार्यदलका सदस्य आङछिरिङ शेर्पाका अनुसार नेपालमा रहेका ती १४ वटा हिमालको उचाइ, अवस्थिति र पर्वत शृङ्खलासँगको सम्बन्धजस्ता सबै प्राविधिक पक्षहरू अध्ययन गरेर निष्कर्षमा पुगिएको हो।
उनका अनुसार यस्ता तथ्यांकले अब विश्व पर्वतारोहण महासंघ लगायत अन्तर्राष्ट्रिय संस्थाहरूबाट नेपालका यी हिमालहरूको औपचारिक मान्यता सुनिश्चित गर्न सक्ने आधार तयार गरेका छन्।
“विश्वमै जम्मा १४ वटा आठ हजार मिटरमाथिका हिमाल छन् भन्ने मान्यता यथार्थ हो भने ती सबै नेपालमै छन् भन्न सकिने वैज्ञानिक प्रमाण अहिले हामीसँग छ,” शेर्पाले भने, “यो हाम्रो पहिचान, पर्यटन र संरक्षणको सवालमा निकै महत्त्वपूर्ण विषय हो। सरकार अब ढिला नगरी अन्तर्राष्ट्रिय तहमा औपचारिक मान्यता दिलाउन कूटनीतिक पहलमा जुट्नुपर्छ।”
नेपाल सरकारले हालसालै आधिकारिक रूपमा आठ हजार मिटरभन्दा माथिका थप ६ हिमाललाई मान्यता दिएको छ। तीमध्ये यालुङ खाङ ८,५०५ मि, यालुङ खाङ पश्चिम ८,०७७ मि, कञ्चनजंघा दक्षिण ८,४७६ मि, कञ्चनजंघा सेन्ट्रल ८,४७३ मि, ल्होत्से सेन्ट्रल ८,४१० मि र ल्होत्से सार ८,४०० मि रहेका छन्।
यीबाहेक सगरमाथा ८,८४८.८६ मि, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयु, धवलागिरि, मनास्लु र अन्नपूर्ण प्रथमजस्ता हिमालहरू पहिलेदेखि नै अन्तर्राष्ट्रिय मान्यता प्राप्त आठ हजार मिटरमाथिका हिमालको सूचीमा पर्दै आएका हुन्।
नेपाल सरकारले १९९० को दशकमा डा. हर्क गुरुङको संयोजकत्वमा हिमाली अध्ययन समिति गठन गरेर यी हिमालहरूको गहिरो वैज्ञानिक अध्ययन गराएको थियो। अध्ययन टोलीमा आङछिरिङ शेर्पा स्वयं प्राविधिक सदस्यका रूपमा संलग्न थिए। यस अध्ययनका आधारमा ती हिमालहरू अलग्गै चूचुरोको रूपमा मान्न सकिने ठहर गरिएको थियो।
हालसम्म १३ वटा हिमाल आरोहणका लागि खुला गरिएका छन् भने यालुङ खाङ पश्चिममा भने अझै आरोहण अनुमति दिइएको छैन। विज्ञहरूका अनुसार त्यहाँको भूगोल, वातावरणीय संवेदनशीलता र स्थानीय जनजीवनको सन्तुलन कायम राख्दै भविष्यमा सो क्षेत्र पनि पर्यटनको दृष्टिले उपयोग गर्न सकिने सम्भावना छ।
यसैबीच, नेपाल सरकारले हिमाल संरक्षण, जलवायु परिवर्तन र वातावरणीय संवेदनशीलता सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने उद्देश्यले आगामी जेठ २, ३ र ४ गते ुसगरमाथा संवादु आयोजना गर्न लागेको छ। यो संवाद कार्यक्रमले नेपालको हिमाली क्षेत्रको संरक्षण, पर्वतारोहण व्यवस्थापन, जलस्रोत र जलवायुमा पर्ने प्रभावहरूबारे अन्तर्राष्ट्रिय समुदायबीच विमर्श र सहकार्यको वातावरण बनाउने अपेक्षा गरिएको छ।
हिमालहरूको संरक्षण मात्र नभई पर्यटन, अनुसन्धान, स्थानीय समुदायको समृद्धि र विश्वमा नेपालको विशेष पहिचान निर्माण गर्नसमेत यी प्रयासहरू निर्णायक हुने विज्ञहरूको बुझाइ छ। नेपालको भूगोल र सम्पदाले दिएको अवसरलाई विश्वमञ्चमा सशक्त ढंगले प्रस्तुत गर्नु आजको आवश्यकता बनेको छ।
