काठमाडौं, १ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राई ‘हर्क साम्पाङ’ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्रीले संसदको अपमान गरेको तथा संसदीय मर्यादा कायम राख्न असफल भएको आरोप लगाएका हुन् ।
साम्पाङले प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम प्रस्तुत हुने समयमा संसदमा अनुपस्थित रहनु, छलफलमा सहभागी नहुनु तथा जनप्रतिनिधिमूलक संस्थाप्रति बेवास्ता गर्नु लोकतान्त्रिक अभ्यासमाथिको प्रहार भएको बताएका छन् । उनले प्रधानमन्त्रीमाथि संसदीय इतिहासमा ‘कालो धब्बा’ लगाएको आरोप लगाउँदै जनताको सार्वभौम संस्थाप्रति गैरजिम्मेवार व्यवहार देखाएको टिप्पणी गरेका छन् । विज्ञप्तिमा साम्पाङले प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’को संज्ञा दिँदै जनताका प्रश्नको सामना गर्न नसक्ने नेतृत्वले गलत नजिर बसाउने बताएका छन् ।
‘कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त हुँदैन । न्यूनतम कर्तव्यसमेत पूरा नगरेकाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भने प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले जनताको मत र जनादेशको सम्मान गर्न आग्रह गरेका छन् । उनले विगत ३५ वर्षदेखि देशमा भ्रष्टाचार र सत्ता दुरुपयोग गर्ने शक्तिविरुद्ध जनताले अहिलेको नेतृत्वलाई समर्थन गरेको दाबी गरेका छन् ।
‘हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ । प्रधानमन्त्री प्रजातान्त्रिक र संसदप्रति उत्तरदायी बन्नुपर्छ, तर राजीनामा माग्नुपर्ने कुनै कारण छैन,’ शाहीले उल्लेख गरेका छन् । उनले संसद जनताको आवाज बोल्ने सर्वोच्च लोकतान्त्रिक मञ्च भएकाले सरकारले संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।
