भर्खरै : Sorry, your browser does not support inline SVG.

बाँदर धपाउन लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक बिदा

बाँदर धपाउन लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक बिदा

मुख्य बुँदा

लालीगुराँस नगरपालिकाले ‘बाँदर लखेटी’ अभियान सञ्चालन गर्ने

जेठ १ र २ गते बाँदर धपाउने विशेष कार्यक्रम

कृषिबालीमा ठूलो क्षति पुगेपछि अभियान सञ्चालन

विभिन्न क्षेत्रमा बाँदर हेरालु खटाइने

कृषकलाई रातदिन खेत कुरुवा बस्नुपर्ने अवस्था

जेठ १ गते अत्यावश्यकबाहेक सार्वजनिक बिदा घोषणा

तेह्रथुम, ३० बैशाख । लालीगुराँस नगरपालिका ले बाँदरबाट कृषिबालीमा भइरहेको क्षति न्यूनीकरण गर्न ‘बाँदर लखेटी’ अभियान सञ्चालन गर्ने भएको छ।

नगरपालिकाले सूचना जारी गर्दै जेठ १ र २ गते बाँदर धपाएर नगरपालिकाको सीमाना कटाउने अभियान सञ्चालन गर्न लागिएको जनाएको हो। अभियानअन्तर्गत वडा नं. ८ को मेघा पुच्छार, वडा नं. ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नं. ५ को सिथापा पुच्छार क्षेत्रमा अस्थायी संरचना निर्माण गरी बाँदर हेरालु समेत खटाइएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख अर्जुन मावोहाङ द्वारा जारी सूचनामा बाँदर समस्याका कारण कृषकहरूले उत्पादन गरेको कृषि उपजमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ। खेतबारी जोगाउन किसानहरू रातदिन कुरुवा बस्नुपर्ने अवस्था आएको तथा कतिपय बालबालिका विद्यालय जानसमेत नसक्ने अवस्था सिर्जना भएको सूचनामा उल्लेख छ।

नगरपालिकाले अभियान सफल बनाउन सम्पूर्ण कृषक, जनप्रतिनिधि, कर्मचारी तथा नागरिकलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ। साथै ठूलो संख्यामा जनपरिचालन आवश्यक पर्ने भएकाले जेठ १ गते अत्यावश्यक सेवाबाहेकका सेवा बन्द रहने गरी सार्वजनिक बिदासमेत घोषणा गरिएको नगरपालिकाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.