अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब

अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब

मुख्य बुँदाहरू

अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि आवेदन खुला ।

प्रारम्भिक चरणमा २० जना नियुक्त गरिने ।

मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक ।

४५ वर्ष ननाघेका स्थानीय बासिन्दाले आवेदन दिन सक्ने ।

बाँदरलाई क्षति नपुर्‍याई खेतीयोग्य क्षेत्रबाट हटाउने मुख्य जिम्मेवारी ।

काठमाडौं, ७ साउन । बाँदरको उपद्रोबाट कृषि बाली जोगाउने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बाँदरबाट अति प्रभावित जिल्लाका २६ क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापनका लागि यो प्रक्रिया सुरु गरिएको हो ।

कार्यालयका अनुसार प्रारम्भिक चरणमा २० जना बाँदर हेरालु नियुक्त गरिनेछ । आवश्यकताअनुसार यो सङ्ख्या थपघट हुन सक्ने जनाइएको छ । बाँदर हेरालुमा आवेदन दिन सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ । उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरेको अनुभव भएका व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ । छनोट भएका हेरालुले मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

नियुक्त भएका हेरालुको मुख्य जिम्मेवारी बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने, बालीमा भएको क्षतिको अभिलेख राखी वडा तथा वन कार्यालयलाई जानकारी गराउने तथा बाँदरलाई कुनै क्षति नपुर्‍याई वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ फर्काउने हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.