त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम

त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम

मुख्य बुँदाहरू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक खुला फोहोर थुप्रिएको ।

बर्ड स्ट्राइकको जोखिम बढ्दै गएको चिन्ता ।

झाडापखाला, हैजा र डेंगु फैलिने सम्भावना ।

काठमाडौं महानगरको स्थलगत अनुगमन ।

फोहोर व्यवस्थापन र कारबाहीको माग ।

काठमाडौं, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी किनार (मनोहरा क्षेत्र) मा खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्य दुवैमा गम्भीर जोखिम बढेको छ ।

वर्षायाममा फोहोरको उचित व्यवस्थापन नहुँदा सरुवा रोग फैलिन सक्ने र बर्ड स्ट्राइक (चरासँग जहाज ठोक्किने) को जोखिमसमेत बढेको सरोकारवालाले बताएका छन् ।

खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल, प्लास्टिकजन्य फोहोर तथा अन्य फोहोर फाल्ने क्रम बढेपछि चिल, गिद्ध, कौवा र भुस्याहा कुकुरको चहलपहल बढेको छ । यसले दैनिक हवाई उडान र अवतरणमा बर्ड स्ट्राइकको जोखिम बढाएको छ ।

विमानस्थलको रनवे एप्रोच लाइट र तारबार नजिकै जथाभावी फोहोर थुपारिएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा टोलीले स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा विमानस्थलको पर्खालसँगै रहेका कच्ची सडक र खुला स्थानमा मासु पसलबाट निस्किएका हड्डी, छाला, फलफूलका अवशेष तथा ढलको दूषित पानी थुप्रिएको भेटिएको छ । वर्षातका कारण फोहोरको लेदो सडकभर फैलिँदा स्थानीय बासिन्दामा झाडापखाला, हैजा र डेंगु जस्ता सरुवा रोग फैलिने जोखिम बढेको जनाइएको छ ।

महानगरले अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्र आसपास खुला रूपमा फोहोर फाल्नु राष्ट्रिय सुरक्षा, हवाई उडान सुरक्षा तथा जनस्वास्थ्यका लागि गम्भीर चुनौती भएको जनाएको छ । सम्बन्धित निकायलाई तत्काल फोहोर व्यवस्थापन गर्न तथा जथाभावी फोहोर फाल्ने व्यक्ति वा संस्थामाथि कडा कारबाही गर्नुपर्ने मागसमेत गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.