भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बाजुराका ५७ वटा वडा अझै बिजुलीबाट वञ्चित

बाजुराका ५७ वटा वडा अझै बिजुलीबाट वञ्चित

काठमाडौं । बाजुराका ६९ मध्ये १२ वटा वडामा मात्र विद्युत् सेवा पुगेको छ। विद्युत् प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका चार गाउँ विकास समिति र हालका १२ वडामा मात्र विद्युत् सेवा विस्तार गरेको हो।

जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह छन् । तीन पालिकाका ६९ वडामध्ये १२ वडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएको छ।

सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिका–६ वडा, बुढीगङ्गामा तीन वडा र खप्तड छेडेदह गाउँपालिकाका तीन वडामा मात्र विद्युत् सेवा विस्तार भएको प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले बताए।

सूचना अधिकारी भट्टका अनुसार बूढीगङ्गा नगरपालिका–१, २ र ३, बडिमालिका नगरपालिका–१, २, ३, ७, ८ र ९ मा मात्र लाइन विस्तार गरी सेवा प्रवाह भइरहेको छ। त्यसैगरी खप्तड छेडेदह गाउँपालिका–५ र ७ पूरै तथा वडा नं ६ का ५५ परिवारलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

बडिमालिका नगरपालिका साविकका मार्तडी र जुगाडा, बुढीगंगा नगरपालिकाको साविक ब्रह्मतोला गाविस र खप्तड छेडेदह गाउँपालिकाको साविक आटिचौर र डोगडीमा मात्र राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गरिएको छ । जिल्लामा राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही चार हजार चार सय ८३ ग्राहक रहेको तथ्यांक छ । सबैभन्दा कम ३३।५१ प्रतिशत विद्युतीकरण भएको राष्ट्रिय तथ्यांकमा उल्लेख छ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार बाजुरामा एक लाख ३८ हजार ९९८ जनसङ्ख्या छ। जिल्लामा २२ हजार ९२१ परिवार विद्युतको पहुँचमा रहेको जनाएको छ। त्यसैगरी चार हजार ३४२ परिवारले सौर्य ऊर्जा तथा सोलार र ६७ परिवारले मट्टितेल प्रयोग गर्ने गरेको जनगणनाको तथ्यांकमा उल्लेख छ। तथ्यांक अनुसार बिजुलीबाट खाना पकाउने १८ परिवार मात्र छ।

२५ हजार ७५१ परिवार अझै दाउरा प्रयोग गरिरहेका छन् भने दुई हजार परिवारले एलपिजी ग्यासबाट खाना पकाउने गरेको जनगणना २०७८ को तथ्याङ्कमा उल्लेख छ । रासस

 


Thali Mobile Pvt.Ltd.