भर्खरै : Sorry, your browser does not support inline SVG.
एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी | दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा |

भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी

भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी

भक्तपुर, २२ असोज । प्रदेश सुशासन केन्द्रमा सञ्चालित ३५ कार्यदिने सेवाकालीन तालिममा सहभागी वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीहरूले भक्तपुर नगरपालिकाको शैक्षिक क्षेत्रको अध्ययन भ्रमण गरेका छन् ।

अध्ययन भ्रमणका क्रममा प्रशिक्षार्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरी नगरपालिकाले सञ्चालन गर्दै आएको शिक्षा प्रणाली, शैक्षिक संस्थाको व्यवस्थापन, लगानी, छात्रवृत्ति, शैक्षिक गुणस्तर अभिवृद्धि तथा स्थानीय पाठ्यक्रमका विषयमा जानकारी लिएका छन् ।

भेटका क्रममा शैक्षिक संस्थाको अनुगमन समिति, अनुगमनको प्रभावकारिता, कलेज व्यवस्थापन समिति तथा शैक्षिक संस्थाको सञ्चालनलगायतका विषयमा समेत छलफल भएको थियो ।

नगरपालिकाले शिक्षा क्षेत्रमा गर्दै आएको बजेट विनियोजन तथा लगानी, कलेज व्यवस्थापन समितिको भूमिका र कार्यसम्पादन, कलेज सञ्चालनबाट प्राप्त उपलब्धि तथा विद्यमान चुनौतीबारे पनि प्रशिक्षार्थीहरूले जानकारी लिएका थिए ।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा विभेद नहुने गरी शैक्षिक व्यवस्थापन गर्दै आएको बताए । नगरपालिकाद्वारा सञ्चालित विभिन्न शैक्षिक संस्थामा देशका विभिन्न स्थानका विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए ।

भक्तपुर नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले प्राविधिक शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बताउँदै प्रजापतिले नगरपालिकामार्फत गुणस्तरीय र पहुँचयोग्य उच्च शिक्षा उपलब्ध गराउने प्रयास भइरहेको बताए ।

आर्थिक रूपमा विपन्न विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले छात्रवृत्ति तथा शैक्षिक ऋणको व्यवस्था गर्दै आएको उनले बताए । नगरपालिकाले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीका लागि वार्षिक करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिइयो ।

नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गरिसकेको र केही अन्य कलेजसमेत सो प्रक्रियामा रहेको जानकारी दिइयो । नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यसमेत राखेको नगर प्रमुख प्रजापतिले बताए ।

नगरपालिकाले युवाविद्यार्थीलाई लक्षित गरी भाषा तथा सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको जनाएको छ । शिक्षा औपचारिक डिग्री प्राप्त गर्ने माध्यम मात्र नभई जीवन र समाज रूपान्तरणको आधार भएको मान्यताका साथ विभिन्न शैक्षिक तथा सीप विकासका कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख प्रजापतिले बताए ।

स्थानीय आवश्यकताअनुसार शिक्षा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए । स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गर्ने अग्रणी स्थानीय तहमध्ये भक्तपुर नगरपालिका रहेको उनको भनाइ थियो ।

अध्ययन भ्रमणका क्रममा प्रशिक्षार्थीहरूले भक्तपुर नगरपालिकाअन्तर्गतका शिशु स्याहार केन्द्र, जनज्योति पुस्तकालय, नगरपालिकाको स्वामित्वमा सञ्चालित कलेज तथा सामुदायिक विद्यालयलगायत विभिन्न शैक्षिक संस्थाको स्थलगत अवलोकन गरेका थिए ।

अध्ययन भ्रमणमा पनौती नगरपालिका, काभ्रेपलाञ्चोकका वरिष्ठ शाखा अधिकृत शिवराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका, डाँची काठमाडौंका वरिष्ठ इन्जिनियर नवीन पाण्डे, चन्द्रागिरि नगरपालिका, बलम्बुका इन्जिनियर पारस थापा तथा किस्पाङ गाउँपालिका, काहुले नुवाकोटका वरिष्ठ लेखा अधिकृत ऋषि अधिकारी सहभागी थिए ।

 


Thali Mobile Pvt.Ltd.