भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरु सम्मानित

भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरु सम्मानित

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरुलाई शुक्रबार एक कार्यक्रमबीच कदर पत्रका साथ सम्मान गर्नुभयो ।

नेपाल नगरपालिका कर्मचारी एशोसियन भक्तपुर नगरपालिका समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कर्मचारीहरुलाई मार्गनिर्देश गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले संस्थाको हितविपरीत संस्थालाई नोक्सान हुने काम गर्नेलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिरी आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्नुभयो ।

अवकाश प्राप्त कर्मचारीहरुले अवकाश पछिका जीवनलाई पनि क्रियाशील ढंगले सामाजिक गतिविधिहरुमा लाग्न प्रेरित गर्दै उहाँले कर्मचारीहरुले सचेत भएर काम गरेन भने संस्थालाई नकारात्मक असर पुग्नेप्रति सचेत हुनुपर्छ भन्नुभयो ।
भक्तपुर देशकै सानो जिल्ला भएकोले भक्तपुरलाई टेस्ट ट्युबको रुपमा विकास गर्न सकिने विचार व्यक्त गर्दै उहाँले भक्तपुरको विकासलाई अझ परिष्कृत ढंगले अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।

सहकारी संस्थाहरुले सहकारीको भावना र मर्मअनुसार काम नगरेको हुँदा अहिले धेरै जनता सहकारीबाट पीडित भएको बताउँदै उहाँले जनतामाझ सहकारी शिक्षाबारे पनि कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरु राम्रा भए जनताले सहज सेवा पाउने बताउँदै संस्थालाई गलत दिशामा लानबाट रोक्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कर्मचारीहरु राजनीतिक प्राणी पनि भएको हुँदा देशमा भइरहेको विभिन्न राजनैतिक गतिविधिबारे जानकारी राख्नु आवश्यक भएको बताउँदै उहाँले कर्मचारीहरुले नेतृत्वसँग समन्वय गरी जनप्रतिनिधिको नीति र निर्देशन राम्रोसँग पालना गरी काम गरे संस्था व्यवस्थित ढंगले अगाडि बढ्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त सहकार्य र हातेमालोले गर्दा भक्तपुर देशकै नमुना नगरको रुपमा परिचित बनेको बताउँदै जनताको भावना बुझेर काम गर्न कर्मचारीहरुलाई मार्गनिर्देश गर्नुभयो ।

त्यस्तै नेपाल नगरपालिका कर्मचारी एशोसियन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले राजनीतिक रुपले सचेत कर्मचारीले मात्रै देश र जनताको हितमा काम हुने बताउँदै कर्मचारीहरुले अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । भ्रष्ट कर्मचारीहरुलाई संरक्षण गर्ने काम शासकहरुबाटै हुँदै आएको बताउँदै उहाँले भक्तपुर नपाले संघीयताको सफल अभ्यास गरिरहेको बताउनुभयो ।

भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले ३० वर्ष आफ्नो कार्यकालको अनुभव सुनाउँदै कर्मचारीहरुलाई देश र जनताप्रति दत्तचित्त भएर काम गर्न प्रेरित गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका १५ जना र सेवा निवृत्त ८ गरी २३ जना कर्मचारीलाई प्रमुख अतिथि बिजुक्छेँले कदर पत्र र नगर प्रमुख प्रजापतिले पुष्प गुच्छाका साथ सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा कर्मचारी एशोसिएनका विकास प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो भने राजेश दिष्टिले पनि बोल्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.