भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुर, १२ कात्तिक । विश्व पक्षघात दिवसको अवसरमा उपेन्द्र देवकोटा फाउन्डेसनको आयोजनामा भक्तपुरको दत्तात्रयमा पक्षघातसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवामार्फत रक्तचाप, थाइराइड तथा मधुमेहजस्ता नसर्ने रोगको परीक्षण गर्दै आएको जानकारी दिनुभयो । रोग लागिसकेपछि धनसम्पत्तिको अर्थ नहुने उल्लेख गर्दै प्रमुख प्रजापतिले स्वस्थ रहन नियमित स्वास्थ्य परीक्षण र जनचेतना आवश्यक रहेको बताउनुभयो ।

पक्षघातजस्ता गम्भीर स्वास्थ्य समस्यामा लक्षण समयमै पहिचान गरी बिरामीलाई अस्पताल पुर्‍याउनु महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । आधुनिक प्रविधिको विकाससँगै स्वास्थ्य उपचार सहज हुँदै गएको उल्लेख गर्दै उहाँले पक्षघातको शङ्का लागेमा ढिलाइ नगरी अस्पताल पुग्न आग्रह गर्नुभयो ।

भक्तपुर नगरपालिकाले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ख्वप अस्पताल सञ्चालन गरेको बताउँदै उहाँले अस्पतालमा सीटी स्क्यान सेवा उपलब्ध रहेको र आगामी दिनमा एमआरआई मेसिन खरिद गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पक्षघातसम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

निःशुल्क स्वास्थ्य परीक्षणले सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज हुने बताउँदै उहाँले कुनै समस्या नदेखिए पनि नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो । उपेन्द्र देवकोटा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले फाउन्डेसनले प्रत्येक वर्ष विश्व पक्षघात दिवस मनाउँदै आएको बताउनुभयो । भक्तपुरमा कार्यक्रम आयोजना गर्न सहज वातावरण र सहयोग प्राप्त भएको उल्लेख गर्दै उहाँले सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो ।

पक्षघात उमेर ढल्केका व्यक्तिलाई मात्र नभई युवावस्थामा पनि हुन सक्ने बताउँदै गुरुङले छ वर्षका बालबालिकामा समेत पक्षघात भएको उदाहरण रहेको उल्लेख गर्नुभयो । त्यसैले यससम्बन्धी जनचेतना सबै उमेर समूहका व्यक्तिमा पुर्‍याउन आवश्यक रहेको उहाँले बताउनुभयो । पक्षघातका लक्षण समयमै पहिचान गरी बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन सके धेरैको ज्यान बचाउन सकिने उहाँको भनाइ थियो ।

यस्ता जनचेतनामूलक कार्यक्रमले पक्षघातबारे सही जानकारी फैलाउन, समयमै उपचार खोज्ने बानी विकास गर्न र सम्भावित जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालले पक्षघातसम्बन्धी जनचेतना फैलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । पक्षघात जुनसुकै व्यक्तिलाई पनि हुन सक्ने भएकाले आम नागरिकलाई यसबारे जानकारी दिनु र समयमै सचेत गराउनु महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै न्युरोलोजी विभागका प्रमुख डा. एञ्जिल महर्जनले पक्षघातसम्बन्धी जानकारी आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार मस्तिष्कमा रक्तप्रवाह अवरुद्ध हुँदा वा मस्तिष्कको रक्तनली फुटेर रक्तस्राव हुँदा पक्षघात हुन सक्छ । यस्तो अवस्था गम्भीर हुने भएकाले लक्षण देखिनेबित्तिकै बिरामीलाई अस्पताल पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभयो । समयमै उपचार सुरु गर्न सके पक्षघातबाट हुने जोखिम र जटिलता कम गर्न सकिने उहाँले बताउनुभयो ।

पक्षघातको शङ्का लागेमा बिरामीको अवस्थाअनुसार तत्काल सीटी स्क्यान वा एमआरआईजस्ता परीक्षण गरी रोगको प्रकृति पहिचान गर्नुपर्ने डा. महर्जनले जानकारी दिनुभयो । विशेषगरी लक्षण देखिएको सुरुवाती घण्टाहरू उपचारका दृष्टिले महत्त्वपूर्ण हुने भएकाले बिरामीलाई जतिसक्दो छिटो अस्पताल पुर्‍याउन उहाँले आग्रह गर्नुभयो ।

विश्व पक्षघात दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रबाट जनचेतनामूलक र्‍यालीसमेत निकालिएको थियो । र्‍याली खौमा, इताछेँ, तेखापुखु, वंशगोपाल, तालाक्व, सुकुलढोका, गोल्मढी र इनाचो हुँदै दत्तात्रयमा पुगेर सम्पन्न भएको थियो ।

र्‍यालीमार्फत पक्षघातका लक्षण समयमै पहिचान गरी उपचार गराउनुपर्ने सन्देश प्रवाह गरिएको थियो । कार्यक्रमअन्तर्गत दत्तात्रयमा बिहान १० बजेदेखि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.