भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो

भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो

काठमाडौं, २४ भदौ । भोटेकोशी बाढीका कारण अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट यति ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन रहेका हुन् ।

प्राधिकरणका अनुसार रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् । त्यसमध्ये रसुवा जिल्लाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका छन् ।

यस्तै, नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना सम्पर्कविहीन छन् । यसैगरी, करिब ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सनाखत भएका शवको सङ्ख्या सम्पर्कविहीनको विवरणबाट घटाइएको प्राधिकरणले जनाएको छ ।

मृतकको सङ्ख्या १ हजार ३६७

विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव फेला परेका छन् ।

काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको समेत मृत्यु भएको प्राधिकरणले जनाएको छ । हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित गर्ने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ ।

१३ हजारभन्दा बढीको उद्धार

बाढी तथा अन्य विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका छन् । नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार ७ तथा सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जनालाई राखिएको छ । त्यसमध्ये रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना रहेका छन् । विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएकोमा २५२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । यसैगरी, नेपाली सेनाले ३ हजार ५३५ जना तथा सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.