काठमाडौं, २४ भदौ । भारतको आन्ध्र प्रदेशमा चिकित्सकहरूले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र एउटा मैनबत्ती निकालेका छन् । निकालिएका वस्तुमध्ये एउटा कलम २५ सेन्टिमिटर लामो रहेको बताइएको छ ।
आन्ध्र प्रदेशको पाल्नाडु जिल्लाकी ३३ वर्षीया महिलालाई छातीको बायाँ भागमा तीव्र पीडा भएपछि परिवारले माताश्री निजी अस्पतालमा भर्ना गरेका थिए । अस्पतालमा चिकित्सकहरूले सुरुमा ईसीजी र इन्डोस्कोपी गरेका थिए । ईसीजीको रिपोर्ट सामान्य देखिए पनि इन्डोस्कोपीका क्रममा उनको पेटमा लामो वस्तुहरू रहेको पत्ता लागेको उपचारमा संलग्न चिकित्सक रामचन्द्र रेड्डीले बताएका छन् ।
त्यसपछि चिकित्सकहरूले शल्यक्रिया गरी पेटभित्र रहेका १३ वटा कलम, ५ वटा चम्चा र एउटा मैनबत्ती सफलतापूर्वक निकालेका थिए । उपचारपछि महिलाको अवस्था स्थिर रहेको बताइएको छ । चिकित्सक रेड्डीका अनुसार ती महिला मानसिक स्वास्थ्य समस्याबाट पीडित थिइन् । परिवारसँग भएको विवादपछि रिसको अवस्थामा आफूले ती वस्तुहरू निलेको उनले बताएकी छन् ।
विभिन्न वस्तु निल्ने घटना यसअघि पनि सार्वजनिक भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०२५ मा उत्तर प्रदेशको हापुरस्थित एक अस्पतालमा ४० वर्षीय पुरुषको पेटबाट २९ वटा स्टिलका चम्चा, १९ वटा टुथब्रस र २ वटा कलम निकालिएको थियो ।
त्यस्तै, सन् २०२४ मा इरानको अहवाजस्थित इमाम खोमेनी अस्पतालका चिकित्सकहरूले ३६ वर्षीय पुरुषको पेटबाट ४५० भन्दा बढी धातुका वस्तु निकाल्न सफल भएका थिए ।
चिकित्सकहरूका अनुसार विभिन्न वस्तु निल्नु स्वास्थ्यसम्बन्धी गम्भीर समस्या हो । यस्तो समस्या बालबालिकामा बढी देखिए पनि केही वयस्कमा, विशेषगरी मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिमा, पनि देखिन सक्छ । कारागारमा रहेका व्यक्तिमा पनि यस्ता घटना देखिने गरेको चिकित्सकीय विवरणहरूमा उल्लेख छ ।
