भोटेकोशी बाढीमा बगेर चितवन पुगेका पहिचान नखुलेका १०३ शव व्यवस्थापन गरिएको ।
शवको विवरण र सङ्केत सुरक्षित राखिएकाले भविष्यमा डीएनए परीक्षणबाट पहिचान गर्न सकिने ।
पहिचान खुलेपछि सम्बन्धित आफन्तले प्रशासनसँग समन्वय गरी शव झिकेर लैजान सक्ने ।
चितवन । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बगेर चितवनसम्म आइपुगेका पहिचान खुल्न नसकेका १०३ शव व्यवस्थापन गरिएको छ । चितवन जिल्ला प्रशासनले देवघाटस्थित चितवनतर्फको जंगल क्षेत्रमा ती शवलाई माटोमुनि व्यवस्थापन गरेको हो ।
बाढीपछि जिल्लाका विभिन्न स्थानबाट हालसम्म २७२ शव फेला परेकोमा १० वटा शवको पहिचान खुलेपछि आफन्तले जिम्मा लिएर लगेका छन् । पहिचान खुल्न नसकेका शवमध्ये १०३ वटा शवलाई आवश्यक विवरण र सङ्केत चिन्ह सुरक्षित राख्दै व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिए ।
प्रशासनका अनुसार शव व्यवस्थापन गरिए पनि भविष्यमा पहिचान खुल्ने सम्भावना भने कायमै राखिएको छ । डीएनए परीक्षणबाट कुनै शवको पहिचान खुलेमा सम्बन्धित आफन्तले प्रशासनसँग समन्वय गरी शव झिकेर लैजान सक्ने व्यवस्था गरिएको छ ।
पहिचान नखुलेका शवलाई लामो समयसम्म खुला अवस्थामा राख्दा स्वास्थ्य तथा वातावरणीय जोखिम बढ्न सक्ने भएकाले सम्मानपूर्वक व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ ।
शवसँग सम्बन्धित सङ्केत, विवरण तथा पहिचानका लागि आवश्यक अभिलेख सुरक्षित राखिएको छ । यसले आगामी दिनमा आफन्तको खोजी तथा डीएनए परीक्षणमार्फत पहिचान खुलाउन सहयोग पुग्ने प्रशासनको विश्वास छ ।
