भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

भुल्केमा व्यावसायिक फलफूलखेतीतर्फ किसानको बढ्दो आकर्षण

भुल्केमा व्यावसायिक फलफूलखेतीतर्फ किसानको बढ्दो आकर्षण

भोजपुर, २६ फागुन । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहबाट आर्थिक, प्राविधिक तथा सामग्री सहयोग उपलब्ध हुन थालेपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख भएका हुन् ।

यहाँका किसानहरूले हाल सुन्तला, एभोकाडो, कागती र जुनारलगायत विभिन्न फलफूलको व्यावसायिक खेती सुरु गरेका छन् । केही किसानले मिश्रित खेती प्रणाली अपनाउँदै फलफूलसँगै मौसमी तरकारी उत्पादनसमेत गर्दै आएका छन् । अनुकूल हावापानी, उर्वर माटो र उपयुक्त भूगोलका कारण भुल्के क्षेत्र फलफूलखेतीका लागि सम्भावनायुक्त मानिएको छ ।

स्थानीय कृषक सीता खड्काका अनुसार वडा र गाउँपालिकाबाट प्राप्त सहयोगले खेतीप्रति उत्साह थपिएको छ । पहिले सामान्य रूपमा खेती गर्दा उत्पादन सीमित हुने गरेको भए पनि अहिले बिरुवा, मल, तालिम तथा प्राविधिक सल्लाह पाएपछि व्यावसायिक रूपमा खेती गर्ने आत्मविश्वास बढेको उनले बताइन् ।

वडा कार्यालयका अनुसार कृषिलाई आयआर्जनको दिगो माध्यम बनाउने उद्देश्यसहित योजनाबद्ध रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । किसानको आवश्यकता र व्यावसायिक योजनाका आधारमा फलफूलका बिरुवा, मल तथा बीउबिजन वितरण गरिँदै आएको छ । साथै प्राविधिक जनशक्तिमार्फत बाली व्यवस्थापन, रोग नियन्त्रण र आधुनिक खेती प्रविधिबारे तालिमसमेत प्रदान गरिँदै आएको छ ।

वडाध्यक्ष रामु थापामगरका अनुसार स्थानीय हावापानी र भूगोलअनुसार उपयुक्त बाली छनोट गर्न किसानलाई प्रोत्साहित गरिएको छ । व्यावसायिक कृषिमार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइएको उनले बताए ।

फलफूल तथा तरकारी उत्पादनलाई प्रोत्साहन गर्न ‘एक घर–एक टनेल’ कार्यक्रम सञ्चालन गरिएको छ । साथै सिँचाइ सुविधा विस्तार गर्न सिँचाइ पोखरी निर्माणको कामसमेत भइरहेको छ । उत्पादन बढेसँगै बजारीकरणमा समस्या नआओस् भनेर बजार व्यवस्थापनका विषयमा पनि योजना बनाइएको जनाइएको छ ।

स्थानीय सरकारको पहल, प्राविधिक सहयोग र किसानको मेहेनतले भुल्के क्षेत्रलाई फलफूल उत्पादनको उदीयमान केन्द्रका रूपमा विकास गर्ने सम्भावना देखिएको छ । व्यावसायिक खेती विस्तारसँगै रोजगारी सृजना, आयवृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.