भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

मुख्य बुँदा

सरकारी जागिर छाडेर कृषिमा लागे

बाख्रापालनबाट वार्षिक पाँच लाखसम्म आम्दानी

६० भन्दा बढी बाख्रा, व्यवसाय विस्तार

सुन्तला र तरकारी खेतीसमेत गर्दै

म्याग्दी, २२ बैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् । दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशुु बहुुउद्देश्यीय फार्मबाट सफलता हात पारेका हुन्।

“पाँच वर्षजति खाडीमुुलुुकमा वैदेशिक रोजगारी गरेर फर्केपछि विसं २०६६ देखि ११ वर्षसम्म बेनीको कृषि विकास कार्यालयमा सहयोगीको रुपमा काम गरेको थिए”, उनले भने, “सङ्घीयतापछि जागिर छाडेर बाख्रा पाल्ने सोच पलायो । नौ वटाबाट सुरु गरेको फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् ।”

वार्षिक ३५ देखि ४० वटासम्म खसीबोका बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी गर्ने पौडेलले तीन जना छोराछोरीलाई सदरमुकाम बेनीमा राखेर पढाउनुका साथै घरव्यवहार चलाउन सजिलो भएको बताए । खसीबोका बाहेक पाठापाठी पनि बिक्री हुुने गरेको छ ।

ग्राहकहरु पाठापाठी र खसीबोका खोज्दै घरमै आउने गरेकाले बजारको समस्या छैन । पौडेलले बाख्रापालनसँगै ब्यवसायिक रुपमा सुन्तला र तरकारीखेती पनि गरेका छन् । एक सय बोटमध्ये ४० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् । थप एक सय सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरेका छन् ।

वैदेशिक रोजगार र करारको जागिरको तुलनामा खेती किसानी र बाख्रापालनबाट सन्तुष्टि मिलेको पौडेलले अनुभव सुनाए । व्यवस्थित किसिमको खोर बनाएर जमुुनापारी जातको बाख्रा पाल्नुभएका पौडेलले उन्नत बोयर जातको एक वटा बोका सहयोग पाएका छन् ।

फार्मको पूर्वाधार विस्तारमा पौडेलले सरकारी निकायबाट सहयोगको अपेक्षा गरे। घरवरपरको पाखामा चरनमा आधारित बाख्रापालन गर्नुभएका पौडेलले बहुवर्षीय डालेघाँस खेती पनि गरेका छन् ।

बाख्राको सुरक्षाका लागि ठूला जीउडाल भएका एक वटा भोटे जातको सहित दुई वटा कुकुर पालेका छन् । रातको समयमा खोर वरपर रुघेर बस्ने कुुकुर जङ्गलमा बाख्रा चराउन लैजाँदा अघिपछि गरेर सुरक्षा दिने गर्छ ।

जङ्गली जनावरको सङ्केत पाएमा भुकेर जानकारी दिने कुकुरले भिडेर बाख्रालाई आक्रमणबाट बचाउन सहयोग गरेको कृषक पौडेलले बताए । भुवानीलाई बाख्रापालनमा श्रीमती भगवतीले पनि सघाउँदै आएकी छिन् । रासस

 


Thali Mobile Pvt.Ltd.