नवलपरासी, २ बैशाख। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि २५ जना समुदाय विपद् स्वयंसेवक तयार पारिएको छ।
विपद्को समयमा समुदाय नै पहिलो उद्धारकर्ता हुने भएकाले प्रतिकार्य योजनालाई सुदृढ बनाउन गाउँपालिकाले विशेष जनशक्ति तयार गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म हेडक्वार्टर पूर्वी नवलपरासीसँगको सहकार्यमा गाउँपालिकाले १८ दिनसम्म विपद् प्रतिकार्यसम्बन्धी सघन तालिम सञ्चालन गरेको थियो।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार विनयी त्रिवेणी विभिन्न प्रकारका विपद्को जोखिममा रहेकाले पूर्वतयारीस्वरूप यो तालिम आयोजना गरिएको हो। यस आर्थिक वर्षमा गाउँपालिकाका ७ मध्ये ४ वटा वडाका युवाहरूलाई समेटेर स्वयंसेवक टोली बनाइएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको संवेदनशील भौगोलिक अवस्थालाई ध्यान दिँदै स्थानीयको क्षमता अभिवृद्धि गरिएको बताए। सुरक्षा निकाय मात्र पर्याप्त नहुने हुँदा प्रशिक्षित समुदायले विपद्को क्षति न्यून गर्न प्रभावकारी भूमिका खेल्ने उनको विश्वास छ।
१८ दिने तालिममा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्यासमार्फत प्राथमिक उद्धार, प्राथमिक उपचार र आपत्कालीन सतर्कताका सीपहरु सिकाइएको छ।
तालिमप्राप्त स्वयंसेवकहरूले विपद्को अवस्थामा समुदायलाई तत्काल सहयोग पुर्याउने, उद्धार कार्यमा सुरक्षा निकायलाई सहजीकरण गर्ने र स्थानीय तहमा विपद् पूर्वतयारी योजना निर्माणमा सहयोग गर्ने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीले स्वयंसेवकहरूलाई विपद्को समयमा आफू सुरक्षित रहँदै अरूलाई सुरक्षित बनाउने सीपमा पोख्त बनाइएको जानकारी दिए। रासस