विराटनगरमा भारतीय नम्बर प्लेटको हुन्डाई भेन्यु कार नियन्त्रणमा लिएपछि अस्थायी पैठारी अनुमतिको दुरुपयोग भएको आशङ्का गरिएको छ ।
एसएसबीको पत्रअनुसार उक्त गाडी असोज ३१ गते भारतबाट नेपाल प्रवेश गरेको अभिलेख छैन ।
गाडी नेपालमै राखेर भन्सारको छुटपुर्जी लिने गरिएको हुन सक्ने र केही कर्मचारीको मिलेमतो हुन सक्ने आशङ्का छ । यसबारे अनुसन्धान जारी छ ।
मोरङमा भन्सार सुविधाको दुरुपयोग गरी नेपालमै राखिएका भारतीय सवारीसाधनको सङ्ख्या पाँच सय हाराहारीमा रहेको सुरक्षा निकायको अनुमान छ ।
यस्ता गाडी कपडा, खाद्यान्न र लागूऔषध ओसारपसारमा प्रयोग हुन सक्ने भएकाले सुरक्षा चुनौती बढेको अधिकारीहरूको भनाइ छ ।
विराटनगर, ११ कार्तिक । भारतीय नम्बर प्लेटका गाडीलाई भन्सारको अस्थायी पैठारी अनुमति अर्थात् छुटपुर्जी लिएर नेपालमा नै राख्ने र तस्करीमा प्रयोग गर्ने गरेको आशङ्का गरिएको छ । विराटनगर नाकामा भारतीय नम्बर प्लेटको हुन्डाई भेन्यु कार नियन्त्रणमा लिएपछि यस्तो गतिविधिमा भन्सारका केही कर्मचारीको मिलेमतो हुन सक्ने आशङ्का थपिएको हो ।
गत असोज ३१ गते विराटनगर–१८ स्थित मटेरुवा नाकामा नियमित गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले भारतीय नम्बर प्लेटको बीआर ३८ एपी ८२८६ नम्बरको हुन्डाई भेन्यु कारलाई शङ्कास्पद अवस्थामा देखेको थियो । सुरक्षाकर्मीले रोक्न खोज्दा चालक गाडी नरोकी भागेका थिए । केही समयपछि दिउँसो ४ बजेर ५० मिनेटमा उक्त गाडी विराटनगर भन्सार कार्यालयको एक नम्बर ढाट नजिक भेटिएको थियो ।
गाडी नेपालतर्फबाटै भन्सार ढाटतर्फ गइरहेको अवस्थामा चालकले भारतबाट भर्खरै प्रवेश गरेको देखाएर अस्थायी पैठारी अनुमति लिन खोजेको सुरक्षा अधिकारीहरूको भनाइ छ । सशस्त्र प्रहरीले गाडी नियन्त्रणमा लिन खोज्दा चालक चाबी लिएर फरार भएका थिए । त्यसपछि अवैध कारोबारमा संलग्न रहेको आशङ्का गरिएका सुरेशकुमार यादव र सबरुन खातुनले पत्रकार सम्मेलन गरी सशस्त्र प्रहरीमाथि आरोप लगाएका थिए । उनीहरूले वैध रूपमा भन्सार सुविधा लिएर चलाएको गाडी नियन्त्रणमा लिई सुरक्षाकर्मीले नौ दिनसम्म दुःख दिएको दाबी गरेका थिए ।
तर, भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५६औँ बटालियनअन्तर्गत जोगबनीस्थित सीमा जाँच चौकीले पठाएको पत्रले उक्त दाबीमाथि प्रश्न उठाएको छ । एसएसबीको पत्रमा असोज ३१ गते उक्त हुन्डाई भेन्यु कार भारतबाट नेपालतर्फ प्रवेश नगरेको उल्लेख रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतीय सुरक्षा निकायको पत्रपछि नेपालमै रहेको गाडीलाई भारतबाट आएको देखाएर भन्सार छुटपुर्जी लिने गरिएको हुन सक्ने आशङ्का गरिएको छ । अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरूका अनुसार गाडी नेपालमै राखेर भन्सारमा कागजातका आधारमा मात्रै अस्थायी पैठारी अनुमति लिने गरिएको हुन सक्छ । सुरक्षा अधिकारीहरूले भन्सारका केही कर्मचारीले गाडीको वास्तविक अवस्था जाँच नगरी कागजात वा फोनका आधारमा छुटपुर्जी काटिदिने गरेको हुन सक्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् । यद्यपि, कर्मचारीको मिलेमतो पुष्टि भइसकेको छैन ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख गेहेन्द्रबहादुर भण्डारीले उक्त गाडी भारतबाट नेपाल प्रवेश गरेको अभिलेख नरहेको बताउनुभएको छ । एसएसबीको प्रवेश अभिलेखमा समेत गाडीको विवरण नभेटिएको र भारतीय पक्षबाट लिखित पुष्टि प्राप्त भएको उहाँको भनाइ छ । सुरक्षाकर्मीले भन्सार कर्मचारीलाई उक्त गाडी नेपालमै रहेको जानकारी गराउँदै छुटपुर्जी जारी नगर्न आग्रह गरेको भए पनि अनुमति काटिएको सुरक्षा अधिकारीहरूको दाबी छ । यस विषयमा लेनदेन वा फोनका आधारमा अनुमति जारी गरिएको हो कि भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार उक्त हुन्डाई भेन्यु कार कपडा तथा खाद्यान्नको अवैध ओसारपसारमा प्रयोग हुने गरेको आशङ्का छ । नेपालमै राखिएका यस्ता गाडीको प्रयोग गरेर सीमापारिबाट सामान ल्याउने र भन्सारको प्रक्रियालाई कागजी रूपमा पूरा गर्ने गरिएको हुन सक्ने सुरक्षा अधिकारीहरूको भनाइ छ । एसएसबीको पत्र र सीसीटीभी फुटेज प्राप्त भएपछि सशस्त्र प्रहरीले करिब ७० देखि ८० लाख रुपैयाँ मूल्य पर्ने उक्त गाडीको लक खोलेर सोमबार राति विराटनगर भन्सार कार्यालयमा बुझाएको जनाएको छ । चालकले गाडीको चाबी लुकाएर फरार भएकाले लक खोल्नुपरेको प्रहरीले बताएको छ ।
सशस्त्र प्रहरीका अनुसार अब आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान भन्सार कार्यालयले अघि बढाउनेछ । विराटनगर भन्सार कार्यालयका अधिकृत भीमराज आङदम्बेले प्रमुख भन्सार अधिकृत बिदाबाट फर्किएपछि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ ।
सुरक्षा निकायको तथ्याङ्कअनुसार मोरङ जिल्लामा मात्रै भन्सार सुविधाको दुरुपयोग गरी नेपालमै राखिएका वा व्यक्तिगत तथा तस्करी प्रयोजनमा प्रयोग भइरहेका भारतीय नम्बर प्लेटका साना सवारीसाधनको सङ्ख्या पाँच सय हाराहारीमा रहेको अनुमान छ । सशस्त्र प्रहरीका एसपी भण्डारीका अनुसार खुला सीमाको फाइदा उठाउँदै नेपालमा राखिएका यस्ता गाडी अवैध सामान ओसारपसारमा मात्र नभई लागूऔषध कारोबारमा समेत प्रयोग हुन सक्ने भएकाले सुरक्षा चुनौती बढेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले अस्थायी पैठारी अनुमति लिएर नेपाल आएका भारतीय गाडी यहाँ घरमा पार्किङ गरेर राख्न नपाइने स्पष्ट पार्नुभएको छ । अनुमति अवधिसमाप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी गाडी भारत फर्काउनुपर्ने उहाँको भनाइ छ । नियम उल्लङ्घन गर्ने गाडी नियन्त्रणमा लिएर भन्सारमा बुझाउने काम तीव्र पारिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कबित कटुवालका अनुसार मंगलबार विराटनगर–४ नहरचोकबाट बीआर ११ पीए ४२५४ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएको थियो । प्रहरी देखेपछि चालक फरार भएका थिए । यसअघि विराटनगर–१४ स्थित ओम साहको घरबाट बीआर ११ डब्लू ३३०७ नम्बरको स्कार्पियो र बीआर ०७ एई ६५८४ नम्बरको केटीएम ड्युक मोटरसाइकल पनि बरामद गरिएको थियो । ती सवारीसाधनका कागजात अहिलेसम्म भन्सारमा पेस हुन नसकेको प्रहरीले जनाएको छ ।
यातायात कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा पटके कर र रुट परमिटबापत २१ लाख ६४ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । तर, नेपालमा अवैध रूपमा सञ्चालन भइरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनको यकिन तथ्याङ्क अझै व्यवस्थित हुन सकेको छैन ।
विराटनगरको यो घटनाले अस्थायी पैठारी अनुमतिको प्रभावकारी अनुगमन, भन्सार प्रक्रियाको पारदर्शिता र सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणको आवश्यकतालाई फेरि उजागर गरेको छ ।
