भक्तपुर । सफा, स्वच्छ र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले अगाडि बढिरहेको भक्तपुर नगरपालिकाको नगरसझा सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पन्ध्रौं नगरसभाको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै जनप्रतिनिधि जनभावना बमोजिम कार्य गर्न र कर्मचारीहरुले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्न मार्गनिर्देशन गरे ।
भक्तपुर नगरपालिकाभित्र अवस्थित औद्योगिक क्षेत्रका प्रदूषणयुक्त उद्योग तथा कलकारखानाहरु बन्द गराउनुपर्ने धारणा राख्दै भक्तपुरको सीप र श्रमसँग जोडिएका उद्योगहरुलाई पुनःस्थापना गर्नु आवश्यक रहेको बताए । नेपालको अनुमतिविना भारतीय दूतावासले नेपालमा २० करोड खर्च गर्न पाउने सम्झौताले नेपाल भारतको उपनिवेश बन्ने खतरा भएको जिकिर गर्दै सरकारले उक्त सम्झौता तत्काल खारेज गर्नुपर्ने धारणा राखे ।
युद्ध र नरसंहारको विरोध गर्नेहरु देशभक्त हुन सक्दैनन् भन्दै सुवालले संरा अमेरिकाको आडमा इजरायलले प्यालेष्टाइनमाथि गरेको युद्धको विरोधमा नेमकिपाले देशका विभिन्न जिल्लाहरुमा विरोध र भत्र्सना कार्यक्रमको आयोजना गरी प्यालेष्टाइनी जनताप्रति ऐक्यबद्धता जनाउदै आएको बताए । सांसद सुवालले ५५ वर्ष अगाडिदेखि सञ्चालनमा रहेको भक्तपुरको सल्लाघारीस्थित दुग्ध चिस्यान केन्द्र हाल बन्द अवस्थामा रहेको र केन्द्रलाई पुनःसञ्चालन गर्नुपर्ने माग जनताहरुको रहेको बताए ।
निजी गरिएका सार्वजनिक जग्गाहरुको प्राप्त प्रमाणका आधारमा पुनः सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरुसँग देश विकासको खाका नै नभएको दावी गरे । कार्यक्रममा सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०८० साउन १ गतेपछि भक्तपुर नगरपालिकाले गरेका विभिन्न कार्य तथा गतिविधिहरुबारे संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय जनताको लागि छिटो छरितो सेवासुविधा प्रदान गर्न अधिकार सम्पन्न स्थानीय तहबाट मात्र सम्भव भएको बताए ।
संघ र प्रदेश सरकारहरु संविधानले स्थानीय तहलाई प्रदान गरिराखेका अधिकारहरु समेत विभिन्न बहानामा फिर्ता गर्ने कोसिस भइरहेको बताए । संविधानले संघीय राज्य घोषणा गरे पनि स्थानीय तहहरुले संघीयता कार्यान्वयनमा निकै चुनौतीहरु भोग्दै आएको बताए । अहिलेको नयाँ पुस्ता सुसंस्कृत जीवनको खोजीमा रहेको बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले बताए ।
नयाँ पुस्ताले परिकल्पना गरेको समाज नेपालमै निर्माण गर्न सकेको खण्डमा उनीहरुले आफ्नै देशमा परिवर्तनको आभाष गर्ने जिकिर गरे । बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले नगरसभाको पूर्ण सफलताको शुभकामना दिँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका गरेका विविध गतिविधिबारे सिंहावलोकन गर्नु आवश्यक रहेको बताइन् ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले यहांका सम्पदा, संस्कृति र सभ्यतासंग जोडिएका मूल्य मान्यता र धरोहरबारे विज्ञहरुमार्फत अनुसन्धान र अन्वेषण गराई नयां पुस्तालाई सिकाउंदै जानुको साथसाथै ज्ञान विज्ञानको केन्द्र बनाउन आधारहरु तय गर्दै जाने दिशामा अग्रसर भइरहेको बताइन् ।
भक्तपुर जिल्ला प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर नपाले शिक्षा र स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता राखी गरेको लगानीबाट नगरबासीहरु लाभान्वित भएको बताउँदै भक्तपुर नपाले गरेको व्यवस्थित बस्ती विकास यहाँको अर्को विशेषता रहेको बताइन् ।
नपाभित्र रहेका सहकारी र सहकारी पीडितहरुको अनुगमन र समस्या समाधानतर्फ पनि भक्तपुर नपा क्रियाशील हुनुपर्ने बताउँदै पर्यटकमैत्री पूर्वाधार विकासतर्फ पनि नपाले ध्यान दिनुपर्ने बताइन् । नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले धारणा राखेका थिए ।
