भर्खरै : Sorry, your browser does not support inline SVG.

पर्यटन र आम्दानी जोड्दै पाँचथरको चौँरी महोत्सवस् गोठ नै बने ‘गोठबास’

पर्यटन र आम्दानी जोड्दै पाँचथरको चौँरी महोत्सवस् गोठ नै बने ‘गोठबास’

मुख्य बुँदा:

पाँचथरको फालेलुङ गाउँपालिका को चारराते–फालोट क्षेत्रमा २०७४ सालदेखि चौँरी पर्यटन महोत्सव आयोजना हुँदै आएको छ।

महोत्सवका कारण चौँरीपालन व्यवसाय विस्तार भई १८ वटा गोठबाट बढेर ३१ वटा पुगेका छन्।

चौँरी गोठहरू ‘गोठ–बास’ (गोठ–स्टे) का रूपमा विकास भई वार्षिक करिब ५ हजार पर्यटक भित्रिने गरेका छन्।

पहिले घिउ र छुर्पी मात्र उत्पादन हुने गरेकामा अहिले याक चिज लगायत चौँरीजन्य सामग्रीको उत्पादन र बजार विस्तार भएको छ।

चौँरीपालकहरूले चौँरीजन्य सामग्रीको उचित मूल्य वृद्धि र कृत्रिम गर्भाधानमा सरकारी सहयोग आवश्यक रहेको बताएका छन्।

पाँचथर, ७ बैशाख । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरूलाई फाइदै फाइदा पुर्‍याएको छ।

विसं २०७४ सालदेखि समुद्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवर्द्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तर्राष्ट्रिय बजार पाएको छ। चौँरीपालकका गोठहरू नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ।

फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरूमै उत्साह बढेको छ। फालोट क्षेत्रमा २०७४ सालअघि १८ वटा चौँरी गोठ रहेकामा अहिले ३१ वटा गोठ रहेका छन्।

“पेसाप्रति युवा र महिलाहरू आकर्षित छन्। पहिले पुरुषहरू मात्रै गोठमा बस्ने चलन थियो”, उनले भने, “गोठहरू पहिलेभन्दा धेरै सुधार भएका छन्। अहिले गोठमै पर्यटकलाई राख्ने प्रबन्ध भएको छ।” जसलाई ‘गोठ–बास’ (गोठ–स्टे) भनिन्छ।

गोठालाहरू नै पर्यटनतर्फ आकर्षित भएका छन्। तर सबै गोठमा गोठबास कार्यान्वयन हुन सकेको छैन। अहिले १०–१२ वटा गोठले मात्रै पर्यटक राख्न सक्छन्। सन्दकपुर आहालदेखि फालोटसम्म रहेका यी गोठमा गरेर करिब १५० मानिस यहाँ बास बस्न सक्छन्।

वार्षिक रूपमा कम्तीमा पाँच हजार पर्यटक आउने गरेको नेपालको भनाइ छ। असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण गोठहरू गाउँतर्फ झारिने हुँदा पर्यटकहरूलाई पुग्न र बास बस्न कठिन पर्ने गरेको छ। पहिले यहाँ चौँरीको घिउ र छुर्पी मात्रै उत्पादन हुने गरेकामा अहिले चिज उत्पादन गरी बिक्री हुँदै आएको छ।

महोत्सवकै कारण चौँरीजन्य सामग्रीले बजार पाएको, सरकारी निकायहरूले सहयोग गर्न थालेका र पर्यटकहरू पुग्न थालेको नेपाल बताउँछन्। फालेलुङको चारराते, तीन सिमानालगायत क्षेत्रका चौँरीपालकहरूको समूह ‘कञ्चनजङ्घा याक चिज उत्पादक समूह’का अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरूमा चौँरीको सङ्ख्यामा अत्यधिक वृद्धि हुँदै गएको छ।

चौँरीपालनमै आधारित भएर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ भने पर्यापर्यटनको विकासमा धेरै ठूलो मद्दत पुगेको छ। यसको मुख्य कारण पर्यटकको सङ्ख्या बढ्दै जानु हो। चौँरी महोत्सवले पर्यटक भित्र्याएपछि चौँरीका सामग्रीले राम्रो मूल्य पाउन थालेका छन्।

गुरुङका अनुसार चौँरीको हाडखोर पनि बिक्री हुन्छ। सिङ, पुच्छर पनि बिक्री हुन्छ। चौँरीका धेरै सामग्री धार्मिकरसांस्कृतिक कार्यमा प्रयोग गरिने हुँदा धेरै माध्यमबाट गोठालाहरूले आम्दानी गर्ने गरेका छन्। पछिल्लो समय नयाँ याकहरू ल्याएर चौँरीका नयाँ प्रजातिको विकासको प्रयास भइरहेको छ, जसले चौँरीको सङ्ख्या बढाउँदै लगेको छ।

ताप्लेजुङका हिमाली भेग र भुटानबाट याक ल्याएर उन्नत प्रजाति उत्पादनको प्रयास चलिरहेको छ, जसमा अहिलेसम्म ४० भन्दा बढी चौँरी हुर्किएको गुरुङको भनाइ छ। अब सरकारले चौँरीमा कृत्रिम गर्भाधानमा सहयोग गर्नुपर्ने उनको माग छ। चौँरीजन्य सामग्रीको बजार पनि सहजै रहेको अध्यक्ष गुरुङले बताए। “छुर्पीको निर्यातमा कहिलेकाहीँ समस्या आउने गरेको छ, तर बिक्री राम्रै भइरहेको छ”, उनले भने, “अहिले याक चिज उत्पादन भइरहेको छ।

यसको बजार पनि राम्रै छ, तर मूल्य वृद्धि हुनुपर्छ।” याक चिज काठमाडौँमा धेरै निर्यात हुन्छ। अहिले चिज प्रतिकिलो रु ८०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ भने चौँरीको घिउ रु ८०० पर्छ। उत्पादित सामग्रीको मूल्य भने कम भएको अध्यक्ष गुरुङको गुनासो छ। “गाई र चौँरीका दुग्धजन्य सामग्रीमा धेरै अन्तर छ। चौँरी त जडीबुटी चरेर दूध दिने जनावर हो”, गुरुङले भने, “तर गाई र चौँरीका दुग्धजन्य सामग्रीको मूल्य करिब बराबर छ। यसले त उत्पादन लागत पनि उठ्न गाह्रो हुन्छ।”

यस पटक पाँचथरकै याङरुमा उत्पादित भेडाको घिउसमेत महोत्सवमा राखिएको थियो। असाध्यै मेहनत पर्ने भएकाले भेडाको घिउ प्रतिकिलो रु १२ हजार पर्ने गरेको बिक्रेता लोकेश गुरुङको भनाइ छ। “भेडाको व्यावसायिक पालन घट्दै गएको अवस्था छ। माग अत्यधिक छ तर घिउ उत्पादन गर्न कठिन पर्ने गरेको छ”, उनले भने, “यसमा राज्यले पनि केही सहयोग गरे हामीलाई सहज हुन्थ्यो।”

विगत नौ वर्षदेखि नयाँ वर्षको दिन चाररातेमा चौँरी महोत्सव आयोजना हुने गरेको छ। महोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारत, भुटान र बङ्गलादेशबाट पर्यटक आउने गर्छन्। महोत्सवका अवसरमा भेला पारिने सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने तथा ढकमक्क फुलेको गुराँस र चिमलको रङ्गमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन्।

हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैलाई यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूको भनाइ छ। रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.